काशीराम डाँगी, रोल्पा/मंसिर १, २०७४-चुनावी अभियानका क्रममा रोल्पा सदरमुकाम लिवाङ जाँदै गरेका बाम गठबन्धनका उम्मेदवारहरु चढेको गाडीलाई लक्षित गरेर रोल्पामा फेरि बम प्रहार भएको छ। लिवाङमा आयोजित आमसभालाई सम्बोधन गर्न गइरहेका गठबन्धनका उम्मेदवारहरु कृष्णबहादुर महरा र वर्षमान पुनसहितलाई रोल्पा लिवाङको भदौरे मन्दिर नजिकैको जंगलमा शुक्रबार पौने १२ बजे बम प्रहार भएको हो। पुनसहितको चुनावी अभियान टोलीलाई बम आक्रमण गरिएको यो तेस्रोपटक हो। घटनास्थल लिवाङदेखि करीब ५ किलोमीटर मात्रै टाढा छ भने नेपाली सेनाको ब्यारेक देखि ३ किलोमीटर टाढा छ।
प्रहरीका अनुसार रोल्पा नगरपालिकाको भदौरे मन्दिरदेखि पूर्वमा रहेको खोल्सामा बम प्रहार गरिएको हो। बम प्रहारबाट मानवीय एवं भौतिक क्षति नभएको प्रहरीले जनाएको छ। लिवाङको सभालाई सम्बोधन गर्न जाने क्रममा उक्त टोलीमा पूर्व सभामुख ओनसरी घर्तीसमेत थिइन्। टोलीमा गठबन्धनका अन्य उम्मेदवार समेत साथैमा थिए ।उम्मेदवारको गाडीलाई लक्षित गरी फ्याँकेर बिस्फोट गराइएको बम सडकमा बिस्फोट भएको थियो भने नपड्केको अर्को एउटा बम भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले बम बनाउन प्रयोग भएको ‘रेड बुल’ को बट्टा फेला पारेको छ। घटना लगत्तै प्रहरीले केही राउन्ड जवाफी गोली पड्काएको थियो। घटनापछि प्रहरीले उम्मेदवारसहितको टोलीलाई सुरक्षा दिई सदरमुकाम ल्याइपुर्याएको छ। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गर्न र सुरक्षा व्यवस्था गर्न थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए।
मंसिर १० मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पुन बाम गठबन्धनका उम्मेदवार हुन्बि भने बिना विभागीय मन्त्री कृष्णबहादुर महरा दाङ बाट प्रतिनिधि सभाका उम्मेदवार छन्। घटनाको कसैले जिम्मेवारी लिएको छैन । बिहीबार पनि सिचाइ राज्य मन्त्री अमरसिङ्ह पुन सवार गाडीलाई लक्षित गरी घोडागाउमा बम प्रहार गरिएको थियो।