भोजपुर/मंसिर २, २०७४-अज्ञात समूहले बाटोमा राखेको टायम बम पड्कँदा भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । युवा संघ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केकैयुङ गाउँपालिका, कोट गाउँ पार्टी सचिव ३३ वर्षीय विक्रम राई बम लागेर गम्भीर घाइते भएका छन् । षडानन्द नगरपालिका दिङलाबाट चुनावी सभा सकेर मोटरसाइकलबाट फर्कंदै गर्दा षडानन्द–८ रथाप्लामा राखिएको बम पड्किएको थियो । बमले लागेर एमाले कार्यकर्ता राईको टाउकोमा गम्भीर चोट लागेको छ । घटनालगत्तै प्रहरी घटनास्थल पुगेर बम पन्साउने क्रममा पड्केर लागेको छर्राले प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी निरीक्षक देवनारायण यादव घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सदरमुकाम ल्याइँदैछ । बम प्रहारबाट घाइते भएका राई अचेत अवस्थामा रहेको र उनको उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको पार्टी सचिव शरणकुमार राईले बताए । बमबारे बुझ्न प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर गीतनारायाण चौधरीले बताए । यसैगरी उत्तरी साल्पासिलिछो-२ कुलुङमा वाम गठबन्धनको चुनावीसभा चल्दै गर्दा भर्खरै बम विस्फोट गराइएको छ । सभामा प्रदेश नं. १ का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दैगर्दा कार्यक्रमस्थलको एक सय मिटर नजिकै बम विस्फोट गराइएको हो । बम विस्फोटपछि सभा आतंकित भएर तितरबितर भएको थियो । विस्फोटमा केहीको हाताहात नभएको बताइएको छ । अहिले सभा चलिरहेको छ ।