0
४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग लत्रिन आवश्यक नरहेको बताएका छन् । कांग्रेसले घुँडा टेकेर कुरा गरेर भारतको आनाबानी विगारेकै कारण नाकाबन्दी लागेको समेत उनको आरोप छ ।सोमबार मोरङ ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले छिमेकीसँग बराबरी हैसियतमा सम्वन्ध राख्नु पर्ने बताए । भने, ‘हामी लत्रिनु पर्ने आवश्यकता छैन । स्वाभिमानका साथ अगाडि बढ्न सक्छौं, मित्रतापूर्ण ढंगले अगाडि बढ्न सक्छौं ।’कांग्रेसले घुँडा टेकीटेकी भारतको आनाबानी विगारेकै कारण नाकाबन्दी लागेको उनको आरोप छ ।‘भारत हाम्रो मित्र हो, खुलस्त भन्नसक्नुपर्छ । बराबरीमा मेलमिलाप हुनुपर्छ’ आफू प्रधानमन्त्री भएपछि नाकाबन्दी हटेको स्मरण गर्दै उनले भने, भनेपछि हुन्छ । मैले भनेँ ।’उनले प्रधानमन्त्रीका रुपमा भारत जाँदा भारतीय नेताहरुसँग कुराकानीको प्रसंग पनि सुनाए ।भारतीय नेताहरुले भन्नुभयो चीनतिर पनि बाटो खोल्दै हुनुहुन्छ । मैले भने, तपाई देश भक्त हो नि ? हो । तपाई अरुलाई नोक्सान नपर्ने गरी देशहित गर्नुपर्छ भन्ने ठान्नुहुन्छ कि हुन्न ? ठान्छु’ उनले भने, ‘मैले त्यही गरें । म नेपालको प्रधानमन्त्री हुँ, नेपालले दुबैतिर नाका खोल्नुपर्छ । तपाईहरुले नाकाबन्दी गर्दा अप्ठ्यारो पर्यो, अब उप्रान्त नाकाबन्दी सकियो । किनभने मैले उताबाट पनि बाटो खोलें ।’सत्तारुढ कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका एमाले अध्यक्ष ओलीले अघि थपे, भारतबाट छेकिएर बस्नु पर्ने, उसले नाकाबन्दी गर्दा भोक्कै बस्नु पर्ने के आवश्यक छ ?’उनले चुनावपछि अब रेल बनाउने, पानी जहाज चलाउने सरकार बन्ने दाबी गरे ।ओलीले कम्युनिष्टको सरकार बने लोकतन्त्र धरापमा पर्ने कांग्रेस नेताहरुको दाबी झुटो प्रचार मात्र भएको समेत बताए । आफू लोकतन्त्रका लागि लडिरहँदा देउवा लण्डनका गल्तीहरुमा पाउरोटीमा जाम लगाइरहेको थिए भन्दै ओलीले भने, ‘लोकतन्त्र हामीले लडेर ल्याएका हौं । हामी नै रक्षा गर्छौ ।’
नागरिकताबारे पुरानो अडान कायमै
झण्डै आधा घन्टा लामो सम्बोधनका क्रममा ओलीले आफूलाई मधेस विरोधी भनेकोमा असन्तुष्टि जनाए । राजाविरुद्ध बम हान्ने दुर्गानन्द झालाई सहिद घोषणा गर्न आफू नै प्रधानमन्त्री हुनु परेको भन्दै उनले भने, अनि एमाले मधेस विरोधी ?’उनले नागरिकताबारे पुरानै अडान राखे । अनावश्यक रुपमा नरम हुन जरुरी नभएको भन्दै ओलीले भने, ‘भारतमा नागरिकताका लागि निवेदन दिन ७ वर्ष लाग्छ । हाम्रो यहाँ दुलाहले सिन्दुर हाल्छ, सीडीओले नागरिकता दिन्छ ।’तर, अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउन नसकिने भन्दै उनले भने, ‘किनकी उनीहरु यो देशमा जन्मिएका होइनन् ।’अनलाइनखबर