४ मंसिर रामेछाप । रामेछापको सुनापति गाउँपालिकाको वडा नं ४ को बेथानलाई स्थानीय प्रशसनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार सूचना प्रकाशित गरी ४ नम्बर वडामा मंगलबारबाट लागू हुने गरी दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।मंगलबार वाम गठबन्धनले आयोजना गर्न लागेको चुनावी आमसभामा जुलुस भीड वा संठित समूहबीच हिंसात्मक गतिविधि हुने सम्भावना देखिएकोले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।प्रशासनले त्यस क्षेत्रमा पनि चुनावी कार्यक्रम नगर्न नगराउन पनि राजनीतिक दलहरुको नाममा आदेश जारी गरेको छ ।बेथानमा मंगलबार बाम गठबन्धनले वृहत जनसभा गर्ने पूर्वनिर्धारित कार्यक्रम छ । यसअघि माओवादी केन्द्रको राम्रो प्रभाव मानिएको वेथानमा वामपन्थीहरुको पकड तोडेको कांग्रेसले दावी गर्दै आएको छ । बेथान त्यही थलो हो जहाँ माओवादीले पहिलो पटक प्रहरी चौकीमाथि आक्रमण गरेको थियो । प्रशासनले दंगा ग्रस्त क्षेत्र घोषणा गरेपछि वाम गठबन्धनको मंगलबार गर्ने भनिएको चुनावी सभा अन्योलमा परेको छ ।