सुनसरी, चैत २७ – स्थानीय तहको चुनावमा उम्मेद्वारको नाम सिफारिस गर्ने विषयमा आपसी विवाद हुँदा नेपाली कांग्रेस रामधुनी नगरमा विवाद उत्पन्न भएको छ । विवादका कारण नगर सचिव दिलकुमार राईमाथि कुटपिट भएको छ ।
शुक्रबार राति झुम्का बजारमा तरुण दलका रामधुनी नगर अध्यक्ष नगेन्द्र गुरुङ र रामधुनी–५ का वडा कार्य समितिका सभापति भोला बाँस्तोलाको नेतृत्वमा रहेका कार्यकर्ताहरुले राईलाई कुटपिट गरेको राई निकटहरुले आरोप लगाएका छन् । सचिव दिलकुमार राईको अहिले धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भैरहेको छ ।
घटनामा संग्लन रहेका तरुण दलका रामधुनी नगर अध्यक्ष नगेन्द्र गुरुङ र रामधुनी–५ का वडा कार्य समितिका सभापति भोला बाँस्तोलालाई इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरी हिरासतमा राखेको छ । घाइते राईको टाउको, आखाँ, ओठमा गहिरो चोट लागेको छ । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक शान्तराम कार्कीले कुटपिटको घटनामा संलग्न रहेका नगेन्द्र गुरुङ र भोला बाँस्तोलालाई घटनाका आधारमा पक्राउ गरिएको बताउँदै दुवैलाई अनुसन्धान र पीडितको उजुरीका आधारमा दोषी देखिए कानूनी कारवाही गर्ने जानकारी दिनुभयो ।
नेपाली कांग्रेस रामधुनी नगरका एक नेताका अनुसार ५ नम्बरको बैठकमा मेयर उपमेयरको नाम सिफारीस गर्ने क्रममा उपेन्द्र कटुवाल लगायतका नेताहरुको क्रम संख्या अन्यको भन्दा पछाडि राखेपछि विवाद उत्पन्न भएको थियो ।