५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिहान ९ बजेतिर दोस्रोपटक प्रचण्डनिवास लाजिम्पाटमा पुग्दा प्रचण्डपत्नी सीता दाहाल पुत्रवियोगमा भावविह्वल अवस्थामा थिइन् ।आइतबार बिहान प्रचण्डलाई सहानुभूति दिन पुगेकी राष्ट्रपति भण्डारी भोलिपल्ट दोहोर्याएर प्रचण्डनिवास पुगिन्, सीता दाहाललाई सम्झाउन ।राष्ट्रपति भण्डारीले प्रचण्डनिवासमा सीतासँग करिब २० मिनेट बिताइन् । यसक्रममा उनले ०५० साल जेठ ३ गते आफ्ना पति मदन भण्डारीको मृत्युको घटना सम्झिइन् ।‘मेरा श्रीमान् दासढुंगा दुर्घटनामा बित्नुभो, दुईवटी छोरीहरु सानै थिए,’ राष्ट्रपति भण्डारीले प्रचण्डपत्नी सीतालाई शान्त्वना दिँदै भनिन्, ‘यस्तो बेलामा सम्हालिनुबाहेक हामीसँग अर्को कुनै विकल्प हुँदैन, मैले पनि आफूलाई सम्हालें र अघि बढें ।’हुन पनि अहिले सीता दाहालले भोगेको पुत्रवियोगको पीडा भन्दा राष्ट्रपति भण्डारीले ०५० सालमा भोगेको पतिवियोगको पीडा भयावह थियो । सीतासँग आफ्ना पति प्रचण्ड छन्, छोरीहरु हुर्केका छन् र नातिनातिना एवं बुहारीहरु छन् । तर, विद्यासँग त्यसबेला कलिला छोरीहरुको भविश्य कोर्ने चुनौती शिवाय अर्थोक थिएन । तर, उनले आफूलाई राजनीतिमा निरन्तरता दिइन् र यतिबेला राष्ट्रपति बन्न पुगेकी छिन् ।प्रचण्डनिवास लाजिम्पाट पुगेर सीतालाई राष्ट्रपतिले आफ्नै संघर्षमय वियोगको कथा सुनाएपछि सीताले पनि विस्तारै आफूलाई सम्हाल्न थालेको लाजिम्पाट स्रोतले अनलाइनखबरलाई बतायो ।स्रोतले भन्यो- ‘राष्ट्रपतिज्यूले भेटिसकेपछि सीता म्याडम नर्मल बन्न थालिनुभएको छ धेरै सम्हालिनुभएको छ, त्यसअघिसम्म उहाँ विक्षिप्त अवस्थामा हुनुहुन्थ्यो ।’
प्रगतिशील काजकिरिया
प्रचण्डनिवास लाजिम्पाटमा प्रकाश दाहालको काजकिरिया प्रगतिशील ढंगबाट गरिएको छ । त्यहाँ कोही पनि कपाल खौरेर कोरा बसेको छैन ।निवासको ढोका छेउमा प्रकाशको तस्वीर र आगन्तुक पुस्तिका राखिएको छ । परिवारका सदस्यलाई समवेदना दिन जाने मानिसहरुले आगन्तुक पुस्तिकामा नाम लेख्छन् र तस्वीर नजिक पुगेर श्रद्धाञ्जली अर्पण गर्छन् । मंगलबारसम्म लाजिम्पाटमा प्रचण्ड परिवारलाई सहानुभूति दिन पुग्नेहरुको बाक्लो उपस्थिति देखिँदै आएको छ ।