६ मंसिर,गौशाला । मिथिलाञ्चलको सप्ताहव्यापी विवाहपञ्चमी उत्सवअन्तर्गत मंगलबार राति महोत्तरीको मटिहानी नगरपालिकामा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ ।रामजानकी विवाह महोत्सवको अवसरमा महोत्तरीको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा मटकोर विधि सम्पन्न भएको लक्ष्मी नारायण मठ मटिहानीका मूलमहन्थ जगन्नाथ दास वैष्णवले जानकारी दिनुभयो ।मिथिलाको धार्मिक विधिअनुसार महिलाले विवाहको गीत गाउँदै लक्ष्मीनारायण मठको लक्ष्मी सागर (पोखरी) मा पुगि भगवान सीताको प्रतिक रहेका मूर्तिलाई नुहाइ माटो उत्खन्न गरेका थिए ।मिथिलाको वैवाहिक पद्दतिमा तिलकोत्सव तथा मटकोर महत्वपूर्ण उपक्रम हो । मटकोरको दिन लक्ष्मीसागरबाट खनेर लगेको माटोबाट विवाहपञ्चमीका दिन जनकपुरमा भगवान श्री राम र माता सीताको विवाहका लागि यज्ञवेदी निर्माण गरिने छ । जहाँ मंसिर ७ गते (भोलि) का दिन रामसीताको शुभ विवाह कार्यक्रम हुनेछ ।साधु सेवा समिति जनकपुरको आयोजनामा मटकोरका लागि जनकपुरबाट ६ दिन अघि निस्केको रथ यात्राले भारतको कलानेश्वर, फूलहर हुँदै महोत्तरीको मटिहानी पुगेर गएराति मटकोर विधि सम्पन्न गरेको छ । गएराति मटिहानीमा यज्ञवेदीका लागि खनिएको माटो लिएर सो रथयात्रा महोत्तरीको जलेश्वर, प्रकौली, पिपरा हुँदै आज विवाह पञ्चमीका लागि जनकपुर जानेछ । प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार त्रेता युगमा भगवान श्री राम र माता सीताको विवाह हुँदा यज्ञवेदी निर्माण गर्न महोतरीको मटिहानीस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि मटिहानीमा वर्षेनी रामजानकी विवाह महोत्सवमा मटकोर विधि गरिने प्रचलन छ । रासस