८ मंसिर, हुम्ला । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि हिल्सा नाका बन्द गरिएको छ ।बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् । जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु मतपेटिकाहरु र मतपत्रसहित पुगिसकेकोले निर्वाचन मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारीले बाँस्कोटाले बताए ।उनका अनुसार म्यादी प्रहरी नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।हुम्ला जिल्लाको सुरक्षा संयन्त्र कडा बनाइएको र निर्वाचनमा मतदाताले ढुक्कसँग मतदान स्थलमा आएर मतदान गर्न सक्ने प्रजिअ बाँस्कोटाले बताए ।जिल्लाका १५ वटा मतदान स्थल अतिसंवेदनशील, १६ वटा संवेदनशील र २१ वटा सामान्य रहेका छन् । मतदान स्थलहरुमा सुरक्षाकर्मी पनि खटिसकेको र मोबाइल टोली पनि व्यवस्था गरिएको छ । तीन स्थानमा नेपाली सेनाको क्याम्प राखिएको प्रजिअ बाँस्कोटाले जानकारी दिए ।