८ मंसिर, रौतहट । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका ४ क्षेत्रबाट ६ जना पूर्वमन्त्रीहरु मैदानमा छन् ।क्षेत्र नम्बर १ बाट पूर्वउद्योग मन्त्री तथा राजपाका अध्यक्ष मण्डल सदस्य अनिल झा र वाम गठबन्धनबाट पूर्वऊर्जा राज्यमन्त्री त्यनारायण भगत भिँड्दैछन् ।क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री तथा कांग्रेस नेता आफताव आलम र वाम गठबन्धनका मुस्ताक आलम प्रतिस्पर्धी छन् । क्षेत्र नम्बर ३ बाट बिनाविभागीय मन्त्री प्रभु साह र ४ बाट पूर्वस्वास्थ्य राज्यमन्त्री वंशिधर मिश्र वाम गठबन्धनबाट चुनाव लड्दै छन् ।
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृह क्षेत्रमा त्रिकोणात्मक भिडन्तको सम्भावना छ ।नेता नेपाल रौतहट छाडेर काठमाडौंबाट चुनावी मैदानमा छन् । उनको साटो वाम गठबन्धनबाट भगत उम्मेदवार बनेका छन् । उनका बलिया प्रतिस्पर्धी हुन्, राजपाका झा र कांग्रेसका कृष्ण यादव ।जातीय राजनीतिका हिसाबले कांग्रेसका यादव पनि बलिया प्रतिस्पर्धी हुन् ।गठबन्धनका कारण हौसिएका भगत सशस्त्र द्वन्द्वमा माओवादी जिल्ला सदस्य थिए । राज्य र केन्द्रीय समिति हुँदै हाल पोलिटब्युरो सदस्य छन्, उनी ।
राष्ट्रिय बीउविजन कम्पनीको पूर्वअध्यक्ष रहेका उनी ०६३ मा सांसद र ०७० मा रौतहट ४ बाट सभासद् निर्वाचित भएका थिए ।
मधेशमा राम्रो पकड मानिएको राजपाका कारण झा पनि कमजोर मानिँदैनन् । सद्भावना पार्टी जिल्ला अध्यक्ष हुँदै संघीय सद्भावना पार्टीका केन्द्रीय अध्यक्षसमेत बनेका थिए, उनी । ०६४ सालमा समानुपातिक सांसद बनेका थिए । हाल राजपा नेपालको अध्यक्ष मण्डल सदस्य छन् । यस क्षेत्रमा पूर्वसभासद् बबन सिंह पनि स्वतन्त्र उम्मेदवार बनेका छन् ।