नरेन्द्र साह,राैतहट, मंसिर १३, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको संयुक्त चुनावी प्रचार प्रसारमा सुरक्षा निकायले दमन गरेको छ । संयुक्त गठबन्धनले सोमबार राति रौतहटको माधव नारायण नगरपालिका वार्ड नं. ८ मा शान्तिपूर्णरुपले गरिरहेको चुनाव प्रचार प्रसारमा प्रहरी दमन भएको हो । स्थानीय प्रहरी चौकीका इन्चार्ज असई सनम मोक्तानको नेतृत्वमा गएको टोलीले बिना कारण सर्वसाधारण जनता माथि निर्मम लाठी प्रहार लाठी प्रहार गर्नुका साथै दर्जनौं युवाहरुलाई हिरासतमा लिएको राजपा नेपालकी केन्द्रीय प्रवक्ता डा.डिम्पल कुमारी झाले विज्ञप्तिमार्फत् जनाएकी छन् । प्रहरीले लाठीचार्ज, गिरफ्तार गर्नुका साथै प्रोजेक्टर, मोबाइल तथा ल्यापटपलगायतका प्रचार प्रसार सामग्रीहरु कब्जा लिएको प्रवक्ता झाले जनाएकी छन् । उनका अनुसार समस्याको समाधान गर्न पहल गर्दा स्थानीय समाजसेवी तथा बुद्धिजीबी चन्द्रशेखर कुशवाहालाई समेत प्रहरीले हिरासतमा लिएको छ । सो घटनाको राजपाले भर्त्सना गर्दै उक्त घटनाका दोषी असई सनम मोक्तानलाई तत्काल निलम्बन एवं गिरफ्तारीको माग गर्दै आवश्यक विभागीय कारबाही गर्न सरकारसँग माग गरेको छ । शासन, प्रशासन एवं सत्ताको आडमा चुनाव जित्ने भ्रम पालेका कांग्रेस तथा माओवादी केन्द्र लगायतका मधेश विरोधी दलहरुलाई मधेशी जनताले कठोर दण्ड दिने विज्ञप्तिमा उल्लेख छ । साथै, सशक्त प्रतिकार गर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।