मंसिर १८,प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन लडेका प्रमुख दलका शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुँदै छन् डडेलधुराबाट प्रतिनिधिसभा सदस्यदका लागि उम्मेदवार बनेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृहजिल्लाको चुनावी कार्यक्रममा सहभागी हुँदै छन्। केही दिन यता सुदुरपश्चिमका चुनावी कार्यक्रममा व्यस्त रहेका देउवाले शनिबार र आइतबार दिनभरि कैलाली–कञ्चनपुरका चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए। त्यस्तै चितवन ३ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चुनाव प्रचारको अन्तिम दिन पनि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछन्। उनलाई त्यहाँका चुनावी कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामबहादुर थापाले पनि सहयोग गर्नेछन्। थापा पनि तीन दिनयता चितवनमै केन्द्रित छन्। थापा सोमबार चितवन महानगरको वडा नम्वर १६, २६ र २२ का चुनावी कोणसभा, कार्यकर्ता भेटघाटलगायतमा सहभागी हुनेछन्।
ओली काठमाडौँमै
झापा ५ का उम्मेदवार एमाले अध्यक्ष केपी ओली भने प्रचारको अन्तिम दिन पनि आफ्नो निर्वाचन क्षेत्रमा हुने छैनन्। उनी उपत्यकाकै चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। ओली आज बिहान काठमाडौं क्षेत्र ३ र दिउँसो भक्तपुर क्षेत्र २ को कार्यक्रममा सहभागी हुने छन्।विराटनगर र चितवन ३ अन्तर्गत पर्ने माडीको चुनावी सभामा आइतबार सहभागी भएका ओलीले आफ्नो क्षेत्रको प्रचारका कार्यक्रम सिध्याइसकेका छन्। उनी मंगलबार मात्रै झापा पुग्नेछन् तर सोही दिन उनको काठमाडौं फर्कने कार्यक्रम छ। ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने भएकाले आफ्नो क्षेत्रमा हुने छैनन। उनीले आफैलाई मतदान गर्न पाउने छैनन्।, त्यस्तै एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि आफ्नै निर्वाचन क्षेत्र केन्द्रित हुँदै छन्। नेपालले बिहान कागेश्वरी मनोहरा ७ मा घरदैलो कार्यक्रम राखेका छन् भने दिउँसो कोटेश्वरमा चुनावी सभाको कार्यक्रम राखेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँकै चुनावी कार्यक्रममा हुनेछन्। कांग्रेसले तनहुँको दमौलीमा आज चुनावीसभा आयोजना गरेको छ।