मेनुका ढुंगाना, अछाम,मंसिर २०,कमलबजार नगरपालिका– ३ बजुडामा नेपाली कांग्रेस र बाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । मंगलबार साँझ कमलबजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा टेकेन्द्र विष्ट र नेवि संघका नेता खडक विष्ट चढेको मोटरसाइकल बाम गठबन्धनको एक समूहले जलाइ दिएपछि स्थिती तनावग्रस्त भएको हो । कमलबजार नगरपालिकामा स्थानीय चुनावमा नेपाली कांग्रेसले जितेदेखि दुई पक्षबीच रीसिबी बढ्दै गएको स्थानीयले बताएका छन् । अहिले उक्त विषयमा इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । अछामका अन्य केही ठाउँमा सामान्य विवाद भएतापनि झडपको स्थिती सिर्जना नभएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । जिल्लामा नेपाली प्रहरी, नेपाली सेना, म्यादी प्रहरी गरी २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको र सुरक्षा व्यबस्था कडा पारिएको न्यौपानेले बताए ।