२४ मंसिर, काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किरातीले एमाले अध्यक्ष केपी शर्मा भारतीय कांग्रेसका कर्मचारी मात्र भएको बताएका छन् ।धेरैले ओलीलाई राष्ट्रवादी भनेर बुझिरहेको बेला किरातीले ओली राष्ट्रवादी हुने नसक्ने ठोकुवा गरेका छन् । भाजपासँगको रिसले ओली नक्कली राष्ट्रवादी बनेको किरातीको गंभीर आरोप छ ।चुनाव सकिएलगत्तै एउटा लामो लेख लेखेर किरातीले ओलीको नक्कली राष्ट्रवादलाई बुझ्न नसक्दा माओवादी केन्द्र एमालेमा विलय हुन थालेकोमा गंभीर आक्रोश व्यक्त गरेका छन् ।
ओलीले माओवादी केन्द्रलाई होच्याएर बोलेको, जनयुद्धलाई असाध्यै न्यूनीकरण गरेर बोलेको भन्दै किरातीले ओलीका विरुद्ध माओवादी केन्द्रका इमान्दार कार्यकर्ताहरुले संघर्ष गर्नुपर्ने बताएका छन् ।
किरातीकाे लेखकाे सानाे अंश :
चुनाव सकिएलगत्तै माओवादी केन्द्रविरुद्ध केपी ओलीले आफ्नो खुराफाती कपट पोख्ने नै थिए । तर, चुनावअघि नै किन उत्पात गरे ?सोझै अनुमान गर्न सकिन्छ, चिनियाँ कम्युनिष्ट पार्टीले माओवादी केन्द्रलाई नम्बर १ मा राखेर प्रचार गर्यो । त्यहीबेला प्रचण्डको भारी प्रशंसा पनि गर्यो । तब खड्ग ओली उत्तेजित भए र भारतको शरणमा लम्पसार परे । भारतीय विस्तारवादको आशिर्वाद प्राप्त भयो, ओलीले माओवादीको छाला काढे ।उत्तरलाई देखाइदिन पाइने, दक्षिणको गजब सेवा हुने र माओवादीलाई बेइज्जत गर्न पनि सकिने रणनीतिअन्तर्गत ओलीले त्यसो गरेका हुन् ।स्मरण रहोस कि हामीले यसअघि नै भनेका हौँ, खड्ग ओली भारतीय कांग्रेसका ‘कर्मचारी’ जस्तै हुन् । भाजपा र कांग्रेसको आन्तरिक द्वन्द्वमा कांग्रेसको कर्मचारीलाई भाजपाले राम्रो मानेन । परिणाम नेपालले अघोषित नाकाबन्दी ब्यहोर्नु पर्यो । नेपालमा थरुवान—मधेसको आन्तरिक प्रश्न पनि गम्भीर थियो । अन्त्यमा अन्तर्राष्ट्रिय जगतमा इज्जत जोगाउन भाजपा सरकार पछि हट्यो र नाकाबन्दी हटाउन बाध्य भयो । नानीदेखि लागेको ओलीको बानी हट्ने कुरै भएन । यसपटक उनले कथित एकताको पक्षमा लम्पसार परेका जुम्रे अबसरवादीहरुको लिनुसम्म हुर्मत लिए ।