२७ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् ।गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् ।भगवती चौधरीको यो दोस्रो दुर्भाग्य हो । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् ।यसपटक मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको आरोप लगाएकी थिइन् । उनले त्यसपछि मतगणनानै बहिस्कार गरिन् । बिजय गच्छदारको राजनीतिक जीवनमा यो छैटौं अपराजित यात्रा हो । २०४८ देखि उनले कुनै पनि चुनाव हारेका छैनन् । योसँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।