५ फागुन,माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले एकतापछिको पार्टी अध्यक्ष प्रचण्ड नै हुनुपर्छ भन्ने आफूहरुको अहिले पनि भनाई रहेको बताएका छन् ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता बस्नेतले पार्टी एकताको षयमा छलफल चलिरहेको बताउँदै प्याकेजमै सहमति गरेर एकता गर्ने विषयमा छलफल चलिरहेको जानकारी दिए ।एकतालाई सामान्य खेलाँचीको रुपमा लिन नहुने स्पष्ट पारेका छन् । नेता कार्यकर्ताको व्यवस्थापन, संगठन निर्माण, नीति र विचार लगायतका सबै कुरा मिलाएर मात्रै एकता हुने उनको भनाई थियो ।चुनावी नतिजा र पार्टी एकता प्रक्रियाका आधारमा एमाले अध्यक्ष केपी ओलीलाई आफूहरुले प्रधानमन्त्रीको रुपमा स्विकार गरेको स्पष्ट पार्दै नेता बस्नेतले अन्य नेता कार्यकर्ताको पनि व्यवस्थापन जरुरी हुने बताए ।चुनावका लागि बनाइएको वाम गठबन्धनलाई जनताले पार्टी एकता गर्नका लागि अनुमोदन गरेको जिकिर गर्दै बस्नेतले अब प्याकेजमै सहमति गरेर एकता गरिने बताए ।वैचारिक र राजनीतिक विषयमा छलफल भइरहेको भन्दै उनले भने, “हामीले के भनेका छौँ भने मिलेका विषय मिलिसके, नमिलेका विषयमा छलफल गरेर साझा बिन्दु पहिल्याउने, जसले एकता दिगो बनाओस् ।” एकतालाई भरपर्दो र अग्रगामी बनाउनुपर्ने उनको भनाई छ । वैचारिक रुपमा माओवादीले भनेको २१औँ शताब्दीको माओवाद र एमालेले भनेको जनताको बहुदलीय जनवादका विषयमा छलफल गरेर साझा निष्कर्षमा पुग्नुपर्ने उनको भनाई छ ।