१३ बैशाख, काठमाडौं । संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भनाभन भएको छ ।
ओलीले तराई मधेसका केही जिल्ला छानीछानी स्थानीय तह बढाउने कुरा कुनै हालतमा स्वीकार्य नहुने भन्दै चुनाव नगराउने गम्भिर खेल अनुरुप यस्तो प्रयास भएको बताएका थिए । उनले संविधान संशोधन बिधेयक राष्ट्रको पक्षमा नभएकाले कुनै हालतमा पारित हुन नदिने अडान राखेका थिए ।एमालेले तराईका ११ जिल्लामा एक सयओटा स्थानीय तह थप्ने सरकारको तयारीप्रति आपत्ति जनाउदै संसद अवरोध गरिरहेको छ । अवरोध खुलाउन सत्तारुढ गठबन्धन र एमालेका शीर्ष नेताको संसद भवनै भएको छलफलमा दुई नेताबीच सवाल जवाफ चलेको स्रोतले जनाएको छ ।
जवाफमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले बिना दुई तिहाई बहुमत पुर्याएर संविधान संशोधन गर्ने बताएका थिए । छलफलमा सहभागी एक नेताले प्रचण्डको भनाई उधृत गर्दै भने-हेर्दैै जानुस्, तपाईले सहयोग नगरे पनि दुई तिहाईले यो प्रस्ताव पारित गरेर देखाउँछु ।’
प्रचण्ड र ओलीबीच भनाभन हुँदा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा पनि सँगै थिए ।
एमालेले मधेसी मोर्चाका अनुचित माग एकपछि अर्को थपिँदै जाने र सत्तापक्ष बाहृय दबाव सामू लम्पसार पर्दै जाने अवस्था देखिएको भन्दै आक्रोश व्यक्त गरेको छ । दलहरुबीच सहमति नभएपछि संसद बैठक बस्न सकेको छैन । अहिले पनि शीर्ष नेताबीच छलफल चलिरहेको छ ।