रौतहट, ३ जेठ । बौधीमाई नगरपालिकाका मेयरमाथि एक शिक्षकलाई नगरपालिका बोलाएर करिब ७ घण्टासम्म बन्धक बनाई कुटपिट तथा मानसिक यातना दिएको आरोप लगाउँदै गृहमन्त्री समक्ष कडा कारबाही गर्न न्यायको लागि गुहार लगाएको छ । स्थानीय बलराम कुमार दासले गृहमन्त्रीलाई सम्बोधन गर्दै दिएको निवेदन मार्फत शंकर माध्यमिक विद्यालय सरमुजवाका शिक्षक रामबाबु यादवलाई “अमानवीय, कानुन विपरीत र लोकतान्त्रिक मूल्य–मान्यता माथिको गम्भीर प्रहार” भएको संज्ञा दिदै दोषी नगरप्रमुख यादव माथि कानुनी कारबाही गर्न माग गरिएको हो । निवेदनमा बौधीमाई नगरपालिका अन्तर्गत कार्यरत शिक्षक यादवलाई नगरपालिकामा बोलाएर नगरप्रमुखले आफै कुटपिट गरेको तथा मानसिक यातना दिएको आरोप पीडित शिक्षकले लगाउदै संचारकर्मीको माध्यमबाट सार्वजनिक भएका उक्त घटनाबाट जनआक्रोश बढेको । साथै जनप्रतिनिधिले पद र शक्तिको दुरुपयोग गर्दै शिक्षक जस्तो सम्मानित व्यक्तिमाथि दुव्र्यवहार गर्नु संविधान, मानव अधिकार र सुशासनको सिद्धान्त विपरीत भएको दाबी गरिएको छ । पीडित शिक्षकले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय अनुसन्धान समिति गठन गर्न, दोषी देखिए नगरप्रमुख सहित संलग्न व्यक्तिहरु माथि कडा कारबाही गर्न तथा पीडित शिक्षकलाई न्याय, सुरक्षा र उपचारको व्यवस्था गर्न माग गरेको छ । गृह मन्त्रीलाई सम्बोधन गरिएको निवेदनमा भविष्यमा शिक्षक, कर्मचारी वा नागरिक माथि यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कानुनी निगरानी आवश्यक रहेको उल्लेख गरिएको छ । साथै “शिक्षक राष्ट्रका भविष्य निर्माता हुन्, उनीहरूलाई अपमान र हिंसाको वातावरणमा राख्नु समाजलाई अन्धकार तर्फ धकेल्ने कार्य हो” भन्दै राज्यलाई गम्भीर बन्न आग्रह गरिएको छ ।



