३ जेठ, रौतहट । नेपाल–भारत सीमा क्षेत्रको मैत्री पुल भएर बिना इजाजत गैरकानुनी रुपमा भारत प्रवेश गर्न लागिएका एक चिनियाँ नागरिकलाई एसएसबीले नियन्त्रणमा लिएको छ । भारतीय सीमा क्षेत्रमा खटिएका सशस्त्र सीमा बल (एसएसबी) को ४७ औं बटालियनले गएको शुक्रवार वीरगञ्ज–रक्सौल बीचमा रहेका मितेरी पुलबाट ५७ बर्षीय याओ शुझाङलाई नियन्त्रणमा लिएको हो । उनीसँग चीनको इजे ०१३८४०८ नम्वरको पासपोर्ट बरामद भए पनि भारत प्रवेशका लागि आवश्यक वैध भिसा कागजात भने फेला नपरेको सुरक्षा श्रोतबाट बुझिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफू खेलौना व्यवसाय सँग सम्बन्धित व्यापारी भएको बताए । उनीसँग लडाकु विमान, स्पाइडर म्यान मुखौटा लगायत विभिन्न शैलीका खेलौनाको खेप समेत बरामद गरिएको सुरक्षा स्रोतले जनाए । अनुसन्धान अनुसार उक्त चिनियाँ नागरिक ११ मे २०२६ मा काठमाडौं हुँदै व्यापारिक प्रयोजनका लागि चितवन आएका थिए । त्यसपछि वीरगञ्ज नाका प्रयोग गरी भारत प्रवेश गर्ने क्रममा उनी एसएसबीको नियन्त्रणमा परेका हुन् । सुरक्षा अधिकारीहरुले ड्युटी परिवर्तन भइरहेका बेला उनी सीमाक्षेत्रमा प्रवेश गरेका थिए । मैत्री पुल पार गरी भारतीय कस्टम क्षेत्र हुँदै रक्सौल सहरतर्फ टाँगामा जाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको भारतीय मिडियामा उल्लेख गरिएको छ ।
उनी केवल चिनियाँ भाषामा मात्र बोल्ने भएकाले सोधपुछमा कठिनाइ भइरहेको बताइएको छ । सुरक्षा निकायले उनको भारत प्रवेशको वास्तविक उद्देश्य, सम्भावित सम्पर्क र गतिविधिबारे गम्भीर अनुसन्धान सुरु गरेका छन् । घटनाबारे पुष्टि गर्दै एसएसबी अधिकारी मनीष आनन्दले अवैध रूपमा बिहार प्रवेश गरिरहेका चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर नियमानुसार कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए । नेपाल–भारत सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा निकायहरूले घटनालाई गम्भीर रूपमा लिएका छन् । पछिल्ला समय सीमावर्ती क्षेत्रमा विदेशी नागरिकको संदिग्ध गतिविधि र अवैध प्रवेशका घटना बढ्दै गएपछि एसएसबीसहित अन्य सुरक्षा निकायले सुक्ष्म निगरानी बनाएको बताइएको छ ।




