रौतहट, ११ जेष्ठ । रौतहट जिल्लामा रातारात सेवाकेन्द्रको विस्तार गरिएको छ । पूर्वसूचना बेगर आकस्मिक सेवा केन्द्र विस्तार गर्दा सेवाग्राहीहरु अन्यौलताका शिकार भएका छन् । गाउँ–गाउँमा सेवाकेन्द्र विस्तार गरी स्थानीयहरुलाई सहज रुपमा छिटो छरितो सेवा दिने उद्देश्यले सेवाकेन्द्र विस्तार गर्ने नेपाल रकारको निर्णय रहेपनि हाल तराई–मधेशको कुनै पनि जिल्लामा सेवाकेन्द्र विस्तार गरिएको छैन । मालपोत कार्यालयका प्रमुख सिकिन्दर साहले कसैलाई जानकारी नदिइकन बुधबार सदरमुकाम गौरमा रहेका मालपोत कार्यालयको स्रेस्ता पुर्जा रोक्का रजिस्टर लगायतका कागजातहरु दुइ वटा सेवाकेन्द्रमा पठाएका हुन् । सेवाकेन्द्र मौलपुर र गरुडामा स्थापना गरिएको हो । राति सेवाकेन्द्र सारिएको र भोलिपल्ट सूचना सार्वजनिक गर्दा सेवग्राहीहरु अन्यौलमा परेका हुन् ।
मौलपुर केन्द्रमा गा वि स विर्तीप्रस्टोका, कटहरिया, शीतलपुर, मर्यादपुर, टेंगरहा, करकच करमैया, सोनरनिया, पतौरा, प्रेमपुर गोनाही, गोगदौल, इनरवा, इनरवारी, सरमूजवा, पिपरिया परोहा, तेजपाकड़ र करुनिया लगायत १७ गा वि स को नक्सा, स्रेस्ता पठाइएको छ ।गरुडा केन्द्रमा हरदिया, रघुनाथपुर, समनपुर, बरियारपुर, गरुडा, मदनपुर, गम्हरिया, चन्द्रनिगाहपुर, धर्मपुर, दिपही, सखुअवा, माधोपुर, गढ़ो, पिपरा राजवाड़ा, विशुनपुरवा, खेसरहिया, पिपरा पोखरिया, धरहरि, बगही, गम्हरिया विर्ताको नक्सा स्रेस्ता सहितको कागजात पठाइएको मालपोत कार्यालयले जनाएको छ ।मालपोत कार्यालयसँगै नापी कार्यालयको सेवाकेन्द्र विस्तार गरिएको हो । कार्यालयवबाट सेवाकेन्द्र विस्तार गरिएको कर्मचरिहरुलाई पनि थाहा जानकारी गराइएको थिएन । मालपोत कार्यालयका एक कर्मचारीले भने विहान कार्यालयमा आउँदा कागजपत्र नदेखिए पछि आश्चर्यमा परेका थिए । मालपोत कार्यालयका प्रमुख साह बाहिर भएको कारण सम्पर्क हुन सकेन ।