१७ जेठ, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित विदेशी दूतावासहरु रहेको क्षेत्रमा शक्तिशाली कार बम विष्फोट भएको छ । कम्तिमा ९ जनाको मृत्यु भएको ६० जना घाइते भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । घाइतेहरु अधिकांशको अवस्था गम्भीर छ । प्रत्यक्षदर्शीका अनुसार कार चढेर आएको एक आत्मघाती आक्रमणकारीले स्वयंलाई बिष्फोट गराएका थिए । अफगान मिडियाहरुका अनुसार विष्फोट काबुलको बजीर अकबर खान इलाकामा भएको थियो । विष्फोट भएको क्षेत्रमा राष्ट्रपति भवन र कयौं देशका दूतावासहरु छन् । तर यो विष्फोट जर्मन दूतावास नजिकै भएको थियो । बमको धमाका यति ठूलो थियो कि करिब डेढ किलोमिटर टाढा रहेको भारतीय दूतावासमा समेत सामान्य क्षति पुगेको छ । तर, भारतीय दूतावासका सबै कर्मचारीहरु सुरक्षित रहेको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीटरमार्फत् जानकारी दिएकी छन् । विष्फोट भएको स्थान नजिकैका धेरै भवनहरुमा क्षति पुगेको छ । करिब ३० गाडीहरु क्षतिग्रस्त भएका छन् । विष्फोट भएपछि कालो धुवाँको मुस्लो धेरैबेरसम्म आकाशमा उडेको देखिन्थ्यो । अफगानिस्तानमा नेपाली दूतावास भने छैन । यसअघि मे १३ मा काबुलमै भएको बम विष्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको थियो । यसैगरी गत फेब्रुअरीमा आफगानिस्तानको सर्वोच्च अदालत अगाडि पनि विष्फोट भएको थियो । सो विष्फोटमा २० जनाको ज्यान गएको थियो ।