नरेन्द्र साह । रौतहट । ३ आसार । भारतको बिहार राज्यबाट रक्सी सेवन गर्न आएका एक भारतीयको आज पोखरीमा डुबेर मृत्यु भएको छ । भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुर थाना क्षेत्रको महंगुवा गाउँ निवासी ५५ वर्षीय विलाश मल्ली डोमको जिल्लाको इसनाथ गाउपालिका अन्तर्गतको औरैया गाउँमा पोखरीमा डुबेर मृत्यु भएको हो । दलित समुदायका व्यक्ति रहेको औरैया मै ससुराली घर भएको कारण प्रति दिन बासको सामग्री विक्री गर्न आउने र बेलुकी रक्सी सेवन गरेर घर फर्किने गरेको मल्ली, स्थानीय वार्ड नम्बर ६ स्थित रहेको पोखरीमा शनिवार मृत फेला परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । पानीमा मृत अवस्थामा देखे पछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए । प्रहरीले मृतकको शव पानीवाट निकालेर पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोस्टमार्टम पछि मृतकको शव परिवारको जिम्मा लगाइएको जिल्ला अस्पतालले जानकारी दिएको छ । विहार राज्य सरकारले रक्सी उत्पादन, विक्री वितरणमा प्रतिबन्ध लगाएपछि भारतीय नागरिकहरु रक्सी सेवन गर्न नेपालका विभिन्न स्थानहरुमा रक्सी सेवन गर्नका लागि रौतहट लगायतका सीमावर्ती क्षेत्रमा आउने गरेका छन । खुल्ला सिमानाको फायदा उठाउदै राक्सिको लत भएको व्यक्तिहरु सांझ परेपछि नेपाल भित्रिने र रक्सीले लठ कति घर फर्किने त कति बोर्डर चेकिंगको डरले बाटोमै ढलेर रात बिताउने गरेका देखिन्छ । गौर भन्सार कार्यालय छेउमा तथा महादेवपट्टी,लक्ष्मीपुर बेलविछवा,बन्जराहा दशगज्जा भित्र सञ्चालन गरिएको रक्सी पसलमा दिउँसै देखि भीड़ लाग्ने भएपनि स्थानीय प्रसाशनले केहि गर्न सकेका छैन । रक्सीको मातले लठ्ठिने जड्याहरु सदरमुकाम क्षेत्रमा जथाभावी हल्ला गाली गलौज गर्दै समेत हिडेका देखिन्छ । यसबाट महिला, स्कुले छात्रा लगायत सर्वसधारणलाई समस्या समेत भोग्नु परेको छ । प्राय मगन्तेहरु दिनभरि पैसा माग्दै हिडने र सांझ पर्ने बितिकै मदिराको मातमा नाचेको पाईन्छन । स्थानीय प्रशासन मुकदर्शन बनेर बसेपछि समस्या दिनहु बढदै गएको छ ।