हरि प्रसाद भुसाल / चैत्र २० अर्घाखाँची
प्रभु बैंक लिमिटेडले आप्mनो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निशुल्क स्वास्थ्य जाँच, रक्तदान लगायतका विभिन्न समाजपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ । यसै क्रममा अर्घाखाँची जिल्ला सन्धिखर्क स्थित प्रभु बैंकको शाखा कार्यालयले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत श्रवण शक्ति कम भएका विद्यार्थीहरुलाई ओढ्ने ओछ्याउने कपडा तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षतामा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत श्रवण शक्ती कम भएका १० जना आवासीय बिद्यार्थीहरुलाई दैनिक रुपमा प्रयोगमा आउने ओढ्ने ओछ्याउने कपडा, कापी, कलम, मसी लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो । उक्त अवसरमा सोही विद्यालयमा अध्यनरत ३ जना अपाङ्ग विद्यार्थीहरुको लागि प्रतिव्यक्ति दुई दर्जन कापी र अन्य शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको छ । ओढ्ने ओछ्याउने कपडा तथा शैक्षिक सामाग्रीहरु ठूलापोखराका पूर्व गा.वि.स. अध्यक्ष गोपाल पन्थी, बैंकका सन्धिखर्क शाखा कार्यालयका शाखा प्रबन्धक श्री सरोज ज्ञवाली लगायतले हस्तान्तरण गरेका थिए ।