३१ अगष्ट, भारत । दक्षिणी मुम्बईको भाइखल इलाकाको जेजे मार्गमा एक भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
मुम्बई प्रहरीका अनुसार बिहान साढे ८ बजे ढलेको भवनको भग्नावशेषबाट ११ जना मृतकलाई निकालिएको छ । अझै १० जना फसिरहेको अनुमान गरिएको छ ।भत्किएको भवनबाट थुप्रै मानिसलाई उद्धार गरी उपचारका लागि जेजे अस्पताल पुर्याइएको प्रहरीले बताएको छ । अस्पताल प्रशासनका अनुसार घाइतेहरुको अवस्था निक्कै नाजुक छ ।मृत्यु हुनेहरुमा ३ महिला र ८ पुरुष छन् । अहिलेसम्म २४ जनालाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।मुम्बई पुलिसले भवन तीन तले रहेको बताएपनि दमकलका कर्मचारीले भने उक्त भवन पाँच तलाको रहेको बताएका छन् । स्थानीयवासीका अनुसार भवनमा दुई तला अनधिकृत रुपमा थपिएको थियो ।ढलेको भवन निक्कै पुरानो थियो र मुम्बईमा गएका केहि दिन भीषण वर्षा भएको थियो । समाचारमा बताइएअनुसार भवन पुनर्निर्माण भइरहेको थियो ।साँघुरो गल्लीमा भवन रहेकाले दमकल र एम्बुलेन्सलाई दुर्घटनास्थलमा पुग्न निक्कै कठिन भएको थियो ।