रौतहट । बैशाख २० गते ।
रौतहट जिल्लामा अवैध रुपले सञ्चालनमा रहेका रक्सी भट्टी तोड़ने अभियान जिल्ला प्रहरी कार्यालयले शुरु गरेको छ । बैशाख ४ गते देखि शुरू गरिएको अभियानको क्रममा एक हप्तामा २० वटा भट्टीमा तोडफोर गरिएको छ । प्रहरीले गौर नगरपालिका र गुजरा गाउँपालिकामा ८, गढ़ीमाई र राजपुर गाउँपालिकामा २, चन्द्रपुर नगरपालिका र बृन्दावन गाउँपालिकामा ४, गौर नपा र चन्द्रपुर नपामा ५, र चन्द्रपुर र परोहा गा.पामा एक गरी कुल २० दारू भट्टी नष्ट गरिएको कार्यालयले जनाएको छ । भठ्ठी नष्ट गर्ने क्रममा बरामद गरिएको ४ हजार ५ सय ४५ लीटर तयारी मदिरा र १४ हजार ५ सय ४५ लीटर
कच्चा पदार्थ नियन्त्रणमा लिएर स्थानीय भर भलादमीहरुको रोहावरमा नष्ट गरिएको छ भने ७ वटा रक्सी बनाउने मशिन, ९८ वटा भाड़ा वर्तन तथा १ थान
सवारी साधन जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिएका छन । जिल्लाका विभिन्न ठाउँमा रक्सी भट्टी सञ्चालन भएको जानकारी प्राप्त भएकोले यो अभियान शुरू गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भण्डारीले बताएका छन । उनले
समाजमा राक्सिको उत्पादन विक्री वितरणले नकारात्मक प्रभाव पर्नुको साथै आपराधिक क्रियाकलाप हुनसक्ने सम्भावना रहेकोले यसको नियन्त्रण गर्नु आवश्यक रहेको बताए । गाउँ घर टोल छिमेकमा यस्तो अवैध कारोबार भईरहेको थाहा हुन आएमा जिल्ला प्रहरी कार्यालय तथा नजिकको प्रहरी चौकीमा खवर दिन सबै संग प्रवक्ता भण्डारीले आग्रह गरेका छन । भारतको विहार राज्यमा मदिरा विक्री वितरण उत्पादनमा राज्य सरकरद्वारा प्रतिवन्ध लगाइए पछि रौतहटमा मदिराको लत लागेका भारतीय नागरिकहरु रक्सी सेवन गर्नका लागि आउने गरेकोले मदिराको मांग बढ़ी भएको हो । नेपालमा २५ रुपैयामा पाउने रक्सी सौफी विहारमा भारतीय रुपैया एक सय ५० मा प्रति गोटा विक्री हुने गरेकोले मदिरा सेवन गर्नेहरु बढ़ी संख्यामा सीमावर्ती नेपालको जिल्लामा आउने गरेको हो ।