रौतहट, २४ बैशाख । रौतहट उद्योग वाणिज्य संघका अध्यक्षद कन्तमुनी जैसवाल र रौतहटका पूर्व गाबिस अध्यक्ष रामप्रवेश यादव लगायत रौतहटका दर्जनौं नेता ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नवआगन्तुक नेताहरुलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बीच निजी निवास लाजिम्पाटमा स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हिमाल, पहाड र तराई–मधेशलाई एकतावद्ध गर्ने, संविधानको दायरा फराकिलो पारेर राष्ट्रिय एकता कायम गर्ने निरन्तर कोशिस गरिरहेको छु । यसमा सरकार सफल भएको छ, मधेशी मोर्चा र संघीय गठबन्धनमा आवद्ध दलहरुको पनि सहमतिमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । संविधान संशोधन प्रस्ताव पारित हुन्छ र नयाँ राष्ट्रिय एकता हासिल हुन्छ । संविधान संशोधनपछि हाम्रो संविधान सबैका लागि स्वीकार्य संविधान हुनेछ ।’ इतिहासमै पहिलोपटक स्थानीय तहको निर्वाचन उत्साहवद्र्धक रुपमा सम्पन्न हुन लागेको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचन हुँदैन कि भन्ने आशंका र भ्रमहरु थिए । उम्मेदवारी दर्ता प्रक्रिया उत्साहवद्र्धक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । हामीले परिकल्पना गरेको सिंहदरबार गाउँ नगरमा आएको छ । हामीले दशौं हजारको बलिदानी गरेर जनताको घर दैलोमा अधिकार स्थापित गरेका छौं । देशलाई यो अवस्थामा ल्याउन पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।’ दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेशलाई मधेशमा माओवादी पार्टी थप शक्तिशाली भएको बताए । कार्यक्रममा पूर्व मन्त्रीहरु गीरिराजमणि पोखरेल, प्रभू शाह लगायतका नेताहरु उपस्थित थिए । पार्टी प्रवेश गर्ने नेताहरुलाई प्रचण्डले माला लगाएर स्वागत गरेका थिए ।