३१ बैशाख, रुकुम । प्रदेश नम्बर ६ को रुकुम जिल्लामा स्थानीय चुनाव शान्तिपूर्ण रुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मध्यान्ह १२ बजेसम्म ५० प्रतिशत मत खसिसकेको मुख्य निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिए । उनले सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिए ।तर, चौरजहारी नगरपालिका वडा नम्बर १० को चिन्नेबगर मतदान केन्द्रमा कांग्रेसका उम्मेदवारले माओवादीका कार्यकर्तालाई आक्रमण गरेपछि केहीबेर तनाव भएको थियो । वडा अध्यक्षका उम्मेदवार निर्मल बुढाले माओवादीलाई किन भोट हालेको भन्दै आक्रमण गरेको माओवादी नेता गोपाल शर्मा ‘अनल’ले जानकारी दिए । ९ स्थानीय तह भएको रुकुममा १४५ मतदान केन्द्र छन् ।