काठमाडौं, वैशाख ३१ – स्थानीय तहको पहिलो चरणको चुनावमा दोलखामा बाहेक अन्य सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भएको छ । दोलखाको पवटीमा हिंसात्मक घटना भए पनि अन्य सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवका अनुसार आज चुनाव भएका ठाउँमा समग्रमा ७१ प्रतिशत मतदान भएको छ । ३, ४ र ६ नम्बर प्रदेश अन्तर्गत ३४ जिल्लाका २ सय ८१ स्थानीय तहमा आइतबार मतदान भएको हो । ३४ जिल्लाका २ सय ८३ स्थानीय तह मध्ये मनाङको नार्फु र डोल्पाको सेफोक्सुण्डो गाउँपालिकामा सबै उम्मेदवार निर्विरोध भएपछि आइतबार २ सय ८१ स्थानीय तहमा चुनाव भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनावमा देखिएको उत्साहले आउँदो महिना हुने चुनावमा पनि उत्साह थपिएको छ ।अहिले स्थानीय तहको केन्द्रमा मतपेटिका ल्याउने काम चलिरहेको छ । विकट ठाउँमा हेलिकप्टर प्रयोग गरेर भए पनि मतपेटिका ल्याइने छ । आइतबारको चुनावको मतपरिणाम जे आए पनि त्यसप्रति उत्तेजित नहुनु आयोगले आग्रह गरेको छ । आयोगले छोटो समयमा नै जे जसरी चुनाव गरियो त्यसप्रति आयोग सन्तुष्ट रहेको यादवले बताउनुभयो ।