८ जेष्ठ । काठमाडौं । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले विर्नाचन विथोल्न आमहड्ताल लगायतका आन्दोलनको घोषणा गर्दैछ । मधेश आन्दोलनको माग सम्बोधन नगरी दोस्रो चरणको निर्वाचन गर्न लागेको भन्दै निर्वाचन विथोल्न गठबन्धनले आन्दोलनको घोषणा गर्न लागेको हो । आइतबार बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले आन्दोलनमा जाने निर्णय गरेको छ । संघीय गठबन्धनका अन्य नेताहरुसँग छलफल गरी आन्दोलनको घोषणा सोमबार दिउँसो गरिनेछ । संविधान संशोधन, स्थानीय निकायको संख्या बृद्धि तथा मधेशी मोर्चासहित संघीय गठबन्धनको माग सरकारले हालसम्म पुरा नगरेकोले आन्दोलनको घोषणा गर्न लागिएको राजपाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् । हुलाकी न्यूजलाई प्राप्त जानकारीअनुसार प्रस्तावित आन्दोलनका कार्यक्रममा जेठ १८ र १९ गते मधेश–थरुहट र लिम्बुवान बन्दको घोषणा गरिएको छ भने निर्वाचनलाई मध्यनजर गरी जेठ २८ गतेदेखि ३१ गतेसम्म आमहड्तालको घोषणा गरिनेछ । त्यस्तै, निर्वाचन कार्यालयहरुमा तालाबन्दी, चुनावी प्रचार प्रसारमा अवरोधका कार्यक्रमहरु सार्वजनिक हुँदैछ । जेठ १० गतेदेखि १३ गतेसम्म पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म आन्दोलन परिचालन सम्बन्धी अन्तरक्रिया गरिनेछ ।