८ जेष्ठ , काठमाडौं । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले घोषणा गर्न लागेको आन्दोलनको कार्यक्रम बुधबारसम्मका लागि स्थगित भएको छ । सोमबार घोषणा हुन लागेको आन्दोलन बारे जानकारी पाएपछि प्रधानमन्त्रीले राजपासहित संघीय गठबन्धनसँग एक दिनको समय माग गरेको थियो । प्रधानमन्त्रीले राजपाका नेताहरुलाई एक दिनका लागि आन्दोलन घोषणाको कार्यक्रम रोक्न आग्रह गरेका थिए । सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा राजपाका नेताहरु र प्रधानमन्त्रीबीच भएको छलफलमा प्रधानमन्त्रीले प्रतिपक्षी दलहरुले संविधान संशोधन र स्थानीय निकायको संख्या थपका विषयमा असहमति जनाएको बताएका थिए । प्रधानमन्त्रीले सहमतिका लागि मंगलबार दिनभरीको समय माग गरेका छन् । सोमबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय निकायको संख्या टुँगो लगाउने र अन्य विषयमा निर्णय गर्ने प्रधानमन्त्रीले आश्वासन दिएका छन् । तर पनि आन्दोलनको घोषणाको तयारी गरेको राजपाको बैठक जारी रहँदा सोमबार दिउँसो प्रधानमन्त्रीले आन्दोलन घोषणा नगर्न आग्रह गरे । राजपाका नेता महन्थ ठाकुरले प्रधानमन्त्रीले
केही दिनसम्मका लागि सयम माग गरेपनि आफुहरुले एक दिनको समय दिएको हुलाकी न्यूजलाई जानकारी दिए । उनले आन्दोलन घोषणा हुने निश्चित रहेको बताउँदै एक दिनको समय प्रधानमन्त्रीलाई दिइएको बताए । राजपाका नेता राजेन्द्र महतोले हुलाकी न्यूजसँग कुराकानी गर्दै बुधबार आन्दोलन घोषणा हुने बताए । संघीय गठबन्धनको बैठक मंगलबारसम्मका लागि स्थगित भएको महतोले बताए ।