काठमाण्डु, ९ जेठ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुनका लागि ‘थाल खाउँ की भात खाउँ’ जस्तै हतारो भएको बताएका छन् । २ नम्बर प्रदेशका केही निर्वाचन क्षेत्र हेरफेर गर्ने सरकारको निर्णयमा बिरोध जनाउन राजधानीको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले देउवालाई प्रधानमन्त्री हुनका लागि हतारो भएका कारण अवाञ्छित निर्णय भइरहेको आरोप लगाएका हुन् । ‘नेपालमा लोकतान्त्रिक आन्दोलन चलिरहेका बेला उहाँ बेलायतको गल्लीमा बरालिरहनु भएको थियो, बहुदल आएपछि गृहमन्त्री हुनुभयो, शान्तिपूर्ण आन्दोलनमा १२२ जना बिरुद्ध गोली चलाउनुभयो’, उनले भने,‘असोज १८ उहाँका कारण भयो, अहिले प्रधानमन्त्री हुन गोलीको आँखा हुँदैन भन्दै हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री हुन हतार भएर थाल खाउँ कि भात खाउँ भएको छ । ओलीले स्थानीय तहको संख्या थप्ने सरकारको निर्णयले निर्वाचनलाई अन्योलमा धकेल्ने बताएका छन् । ‘निर्वाचनको मिति घोषणा गरे पछि कसरी स्थानीय तहको संख्या र सीमा हेरफेर गर्न मिल्छ ?’ ओलीको प्रश्न थियो । उनले सरकारको यो कदम निर्वाचन प्रभावित पार्न ल्याइएको दाबी पनि गरे ।