काठमाडौं, जेठ ९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा सम्बोधन गर्ने कुरा अन्योलमा परेको छ । संसद बैठकमा संबोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी प्रधानमन्त्रीले गरेपनि एमालेले संसद बैठक चल्न नदिने तयारी गरेपछि संबोधन अन्योलमा परेको हो अन्योलका कारण बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक बेलुका साढे ५ बज्दा समेत शुरु हुन सकेको छैन । बैठक पटकपटक सूचना टाँस गर्दै सारिदै आएको छ । यसअघि मंगलबार बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री दाहालले मन्त्रीहरुलाई मंगलबार राजीनामा दिने तयारी गरेको जानकारी गराएर संयुक्त तस्बिर समेत खिचाउनुभएको थियो । उहाँले सरकार गठन हने बेलामा एमाले लगायत दलले लगाएको आरोपको खण्डन गर्दै सरकारले हासिल गरेका उपलब्धिबारे जानकारी गराउँदै राजीनामा दिने घोषणा गर्ने र मंगलबार नै राष्ट्रपति समक्ष राजीनामा बुझाउने तयारी गर्नुभएको थियो । एमालेले सरकारले सोमबार गरेको २२ तराइमा वटा स्थानीय तह थप गर्ने निर्णयको विरोधमा आज संसद बैठक चल्न नदिने तयारी गरेको हो । यसअघि संसद भवनमै प्रधानमन्त्री दाहालले काँग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेपनि सहमति हुन नसकेको उहाँ निकट श्रोतले जनाएको छ । अहिले फेरि तीनजना शीर्ष नेताहरुबिच छलफल गर्ने तयारी भइरहेको छ ।