काठमाडौं : , जेठ १० व्यवस्थापिका संसद भवनमा प्रवेश गर्दै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड । तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णयलाई लिएर प्रमुख दलका शीर्ष नेताबीच भनाभन हुँदा संसद् बैठक स्थगन भएको छ ।संसद् नचलेपछि संसद्मा सम्बोधनमार्फत पदबाट राजीनामा दिने तयारी गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामाको घोषणा गर्न पाउनुभएन । संविधान र कानुनविपरीत सरकारसँग भएको सहमति भत्काएर सरकारले रातारात तराई मधेसका जिल्लामा २२ वटा स्थानीय तह थप गरेको भन्दै एमालेले संसद् अवरोधको चेतावनी दिएपछि विभिन्न चरणमा भएका छलफलमा मुख्य नेताहरू खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको थियो । मंगलबार बिहान ११ बजे बोलाइएको संसद् बैठक दिउँसो १ बजे सारिएको थियो । सहमति नजुटेपछि ३ बजे, ५ बजे हुँदै साँझ ७ बजेलाई तोकिए पनि सहमति नजुटेकै कारण सभामुख ओनसरी घर्तीमगरले सूचना टाँसेर बुधबार ११ बजेसम्मका लागि बैठक स्थगन गर्नुभएको थियो । एमालेले असहमति जनाएपछि प्रधानमन्त्री दाहालले बिहान बालुवाटारमा तीन दलको बैठक बोलाउनुभएको थियो । उक्त बैठकमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भनाभन भएको थियो । त्यसक्रममा ओलीले संविधान, ऐन र विगतको सहमतिविपरीत रातारात स्थानीय तह थप भएको भन्दै सरकारको निर्णय फिर्ता नभए संसद् चल्न नदिने चेतावनी दिनुभएको थियो । संसद् अवरोधको चेतावनीपछि देउवा जंगिनुभएको थियो । ‘हामीले सल्लाह गर्यौं, तपाईंहरूलाई के मतलव ? ‘देउवाले आक्रोश पोख्नुभएको थियो । बैठकमा सहभागी नेताहरूका अनुसार देउवा जंगिएपछि ओली थप आक्रोशित हुँदै ‘हामीलाई के मतलव भन्ने, ल हेरौं त कसरी अघि बढ्नुहुँदो रहेछ’ भन्दै बालुवाटारबाट निस्कनुभएको थियो । त्यसपछि मन्त्रिपरिषद् बैठक बोलाएर प्रधानमन्त्री दाहालले संसद्मार्फत राजीनामा दिने जानकारी गराउनुभएको थियो । तर, एमाले अडानबाट टसमस नभएपछि संसद् भवनमा तीन दलका शीर्ष नेताबीच फेरि बैठक बस्यो । उक्त बैठकमा प्रधानमन्त्री दाहालले संसद् चल्न नसक्दा आफूले राजीनामा दिन नपाएको गुनासो पोख्नुभएको थियो । जवाफमा एमाले अध्यक्ष ओलीले राजीनामा संसद्लाई नभई राष्ट्रपतिलाई दिनुपर्ने भएकाले संसद्लाई निहुँ नबनाउन दाहाललाई जवाफ फर्काउनुभएको थियो ।