जेष्ठ ११, २०७४- निर्वाचन आयोगले सरकारले केही दिनअघि तय गरेको स्थानीय तहको नयाँ संख्या अनुसार जेठ ३१ गते निर्वाचन संभव नभएको बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरी आयोगले नयाँ थपिने संख्या अनुसार निर्वाचन गर्नका लागि प्राविधिक रुपले असंभव रहेको उल्लेख गर्दै पुरानै संख्यामा निर्वाचनको वातावरण मिलाउनसमेत आग्रह गरेको छ । सरकारले जेठ ८ गते आन्दोलनमा रहेका मधेसवादी दलहरुलाईसमेत निर्वाचनमा समेट्ने भन्दै तराईका केही जिल्लामा २२ वटा गाउँपालिका तथा नगरपालिका थप्ने निर्णय गरेको थियो । आयोगले सरकारको तर्फबाट अझैपनि थपिएका स्थानीय तहको संख्यालगायत बिस्तृत विवरण आफुलाई प्राप्त नभएको समेत उल्लेख गरेको छ । ‘परिवर्तित गाउँपालिका तगा नगरपालिकाको बिस्तृत विवरण प्राप्त भएपछि ती गाउँपालिका तथा नगरपालिकाका वडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएको मतदाता नामावली जेठ १५ गतेसम्ममा पुर्याउन प्राविधिक रुपले असम्भव रहेको अवस्था विद्यमान रहेको छ’ आयोगले विज्ञप्तिमा भनेको छ । उसले जेठ २७ गतेसम्म परिवर्तित ठेगाना अनुसार मतदाताको परिचयपत्र छापाइ गरी सम्बन्धित मतदान केन्द्रसम्म पुर्याउन नसकिने, जेठ १५ सम्ममा थपिएका तहहरुमा निर्वाचन अिधकृत नियुक्त गरी कार्यालय स्थापना गर्न पनि नसकिने उल्लेख गरेको छ । आयोगले भनेको छ, ‘नेपाल राजपत्रमा प्रकाशित निर्वाचन कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी ४६१ स्थानीय तहमा उपरोक्त मितिमा निर्वाचन सम्पन्न गराउन वातावरण मिलाउन आयोग नेपाल सरकारसंग पुन: आग्रह गर्दछ ।