काठमाडौं, जेठ ११– मधेसका प्रमुख तीन राजनीतिक दलबीचको छलफलमा कुनै सहमति बन्न सकेन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम नेपालबीच भएको छलफलमा कुनै सहमति नजुटेको हो ।
स्रोतकाअनुसार राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनमा सहकार्य गरौं भनि प्रस्ताव गरेका थिए भने उपेन्द्र यादव र विजयकुमार गच्छदारले चुनावमा सहकार्य गरेर जाऔं भनि प्रस्ताव गरेका थिए ।अध्यक्ष ठाकुरले सरकारले चुनावको वातावरण बनाउन नसकेको भन्दै आन्दोलनमा जानुबाहेक अरु विकल्प नरहेको भन्दै आफूहरु आन्दोलनको तयारीमा रहेकाले त्यसमा सहकार्य गर्न आग्रह गरेको बताइएको छ ।ती दुई नेताले प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघर्ष र आन्दोलनकै रुपमा स्थानीय तहको चुनावलाई सदुपयोग गर्न भनि प्रस्ताव गरेका गरेका थिए ।तीनटै चुनावमा सहकार्य गरेर गए भने स्थानीय तहमा राम्रो उपलब्धी हुने उनीहरुको तर्क थियो । कुनै कसैको कुरा कसैले मानेनन् ।राजपाका अध्यक्ष महन्थ ठाकुरले राजपाको बैठकमा यसको विषयमा छलफल गरेर जानकारी गराउने जवाफ उपेन्द्र र गच्छदारलाई दिएको स्रोतले जनाएको छ । विजुली बजारमा राजपा नेपालको छुट्टै बैठक बस्दैछ ।