काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सहमतीय सरकार गठनका विषयमा बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ । कांग्रेसको पहलमा मंगलबार बिहान काठमाडौंको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसदमा तिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक आह्वान गरिएको थियो । एमालेले बैठकका लागि आफूहरूलाई आएको पत्रको भाषाप्रति असहमति जनाएको छ । एमालेका मुख्य सचेतक भानुभक्त ढकालले सरकार गठन भन्ने विषय पत्रमा रहेकाले त्यसप्रति आफूहरूको आपत्ति रहेको बताए ।प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालेका हुन् । सहमतीय सरकार बनाउन दिएको समयावधि बुधबार सकिदै छ । त्यसपछि बहुमतीय प्रक्रियाबाट सरकार गठनको प्रक्रिया सुरु हुनेछ । यसैबीच, आजको सर्वदलीय बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै कांग्रेस नेतृत्वमा बन्ने भनिएको सरकारका विषयमा छलफल भएको एक नेताले बताए ।