नेपालगञ्ज, जेठ १७ – सरकारले स्थानीय तहको दोस्रो चरणको चुनाव असार १४ गते गर्ने गरी नयाँ मिति तोकेकोमा बाँकेका मुस्लिम समुदायले स्वागत गरेका छन् । रमजान महिनाको समाप्तीपछि निर्वाचनको मिति तोकेका कारण मुस्लिम समुदायले सरकारको निर्णयको स्वागत गरेका हुन् । यसअघि सरकारले वैशाख ३१ गते तोकेको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा जेठ ३१ गते गर्ने निर्णय गरेपछि मुस्लिम समुदायले रमजान महिनामा निर्वाचन नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । पछिल्लो पटक सरकारले असार ९ गते निर्वाचन मिति तोकेपछि बाँकेका मुस्लिम समुदाय आन्दोलनमा उत्रिएका थिए । मुस्लिम अगुवा मोहम्मद हारुनले सरकारले असार १४ गते निर्वाचन मिति तोकेकोमा मुस्लिम समुदायको माग र भावनाको कदर भएको बताउनुभयो । रमजान महिनापछि निर्वाचनको मिति तोकिएका कारण अब सबै मुस्लिम समुदाय मतदानमा सहभागी हुने अवस्था आएको उहाँले बताउनुभयो । ईस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व रमजान नेपालमा जेठ १४ गते आईतबारदेखि सुरु भएको छ । नेपालगन्जका मुस्लिम अगुवा हाजि शकील अहमद कादरीका अनुसार हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तीको भोलीपल्टदेखि रमजानुल मुबारकको महिना शुरु हुन्छ । अन्तिम दिन ईदको रुपमा मनाईन्छ । रमजानको महिनामा इस्लाम धर्मावलम्वीहरु बिहान सूर्योदयदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन व्रत बस्ने गर्छन् ।