जेष्ठ २४, २०७४- नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले शपथग्रहण नगर्दै मन्त्री पठाउने विषयलाई लिएर पार्टीभित्र किचलो सुरु भएको छ । मन्त्री बनाउँदा मापदण्ड नबनाई एकलढंगले अघि बढ्न लागेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असुन्तुष्टि जनाएको हो । अनामनगरस्थित सम्पर्क कार्यालयमा बसेको पौडेल पक्षको बैठकले आफूहरुलाई कति मन्त्रालय पाउने भन्नेबारे एकीन नभई मन्त्रीमण्डलमा कसैलाई पनि नपठाउने निर्णय लिएको स्रोतले बतायो । पौडेलपक्षले कसैलाई नपठाउने भएपछि देउवाले पूर्वकेन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीलाई मात्रै सरकारमा लैजाने निर्णय लिएका हुन् । यसअघि बुधबारको शपथमै केन्द्रीय सदस्य महेश आचार्य, फरमुल्लाह मन्सुरलाई पनि लैजाने तयारी देउवाको थियो । ‘शेरबहादुरजीले मन्त्रिपरिषद्मा कुन मापदण्डमा आधारमा लैजाने हो त्यसको सरसल्लाह नै नगरी आफ्नो ढंगले निर्णय गर्न थालेकाले हाम्रो असहमति भएको हो,’ पौडेलले कान्तिपुरसँग भने, ‘सल्लाह नगरी गरेको निर्णयप्रति हाम्रो सहमति छैन ।’