असार ५,काठमाडौं उपत्यकाका मुख्य सडक जङ्सनहरुमा अत्याधुनिक ट्राफिक लाइट राख्ने योजना बनेको करिब साढे ६ वर्ष बितिसके पनि हालसम्म यसको काम सुरु नै भएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’अन्तर्गत कार्यान्वयन हुनुपर्ने आधुनिक ट्राफिक बत्ती राख्ने योजना अहिलेसम्म बोलपत्रकै वरिपरि रुमलिरहेको छ । जबकि यस आयोजनाको समयावधि सकिन अब केही दिनमात्र बाँकी छ ।
काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत एसियाली विकास बैंकको वित्तीय ९२१ प्रतिशत सहुलियत कर्जा तथा ५१ प्रतिशत अनुदान सहयोगमा काठमाडौंका सडक जङ्सनहरुमा आइटीएस (इन्टेलिजेन्ट ट्राफिक सिग्नलाइजेसन) प्रणालीका अत्याधुनिक ट्राफिक बत्ती राख्न खोजिएको थियो । यो आयोजनाअन्तर्गत काठमाडौंको मुख्य शहरी क्षेत्रको ट्राफिक चाप सुधारका लागि २१ सडक जङ्सनमा आधुनिक ट्राफिक लाइट (सिग्नल) राख्ने तथा अहिलेकोमा संख्या थप गर्ने, सीसीटीभी राख्ने, महानगर ट्राफिक पुलिसको क्षमता अभिवृद्धि र सर्वसाधारणमा सडक प्रयोग र यातायात सुरक्षासम्बन्धी ट्राफिक जनचेतनाका अभिवृद्धिका लागि सहयोग गर्ने, विष्णुमती लिङ्क रोडअन्तर्गत डल्लु र टेकुमा पुल निर्माण गर्नेलगायतका योजना बनाएका छन् । सन् २०११ को जनवरीबाट सुरु यो आयोजना आउँदो जुन २०१७ (२०७४ असार १६) बाट सकिँदै छ । सोपछि यसलाई नवीकरण गर्ने वा नगर्ने एशियाली विकास बैंककै हातमा छ । हालसम्म नवीकरण हुने/नहुने भन्ने टुङ्गो छैन ।परियोजनाको अवधि सकिन नै २ महिनामात्र बाँकी रहेको अवस्थामा हालसम्मको प्रगति ‘तेस्रोपटकको बोलपत्रको तयारी’ मात्र हो । पहिलोपटक करिब २ वर्षअघि (२०७२ सालमा) बोलपत्र आह्वान गरिएको थियो । ‘त्यसबेला ३–४ वटा अन्तर्राष्ट्रिय फर्मले सहभागिता जनाएका थिए । तर माग गरिएअनुरुपको योग्यता नपुगेकाले पुनः दोस्रोपटक बोलपत्रको सूचना जारी गरियो,’ आयोजनाका इञ्जिनियर बेलबहादुर नेपालीले भने । दोस्रोपटकको बोलपत्रमा ८ वटा अन्तर्राष्ट्रिय कम्पनीहरुले सहभागिता जनाए पनि माग उनीहरुको वित्तीय योग्यता नपुगेको नेपालीको भनाइ छ । ‘अब फेरि यसका लागि बोलपत्र आह्वान गर्ने तयारीमा छौं,’ उनले जानकारी दिए ।यसअघि जापान सहयोग नियोग (जाइका) को सहयोगमा उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक लाइट जडान गरिएका थिए । महानगर ट्राफिक कार्यालयका प्रवक्ता लोकेन्द्र मल्लका अनुसार, काठमाडौं उपत्यकाका ३७ जङ्सनमा ट्राफिक बत्तीहरु राखिएका हुन् । तीमध्ये अहिले भक्तपुरको दुई ठाउँमा रहेकाले मात्र काम गरिरहेका छन् । अन्य सबै स्थानका ट्राफिक बत्ती विगत ५–६ वर्षदेखि नै बिग्रिएका हुन् । तर, आइटिएस सिस्टमका लाइट जडान गर्ने ध्याउन्नमा हालसम्म यस्को मर्मत सम्भारतर्फ चासो देखाइएको छैन ।आइटिएस (इन्टेलिजेन्स ट्राफिक सिग्नोफाइजेसन) प्रणालीका अत्याधुनिक ट्राफिक लाइट राख्न खोजिएका स्थानहरु काठमाडौंको त्रिपुरेश्वर, थापाथली, दरबारमार्ग, जमल, न्यूरोड, कान्तिपथ, पुरानो बसपार्क, बालाजु, महाराजगञ्ज, गौशालालगायतका हुन् । पहिलो चरणमा २२ वटा जङसनमा र पुनः अन्य चरणमा गरी काठमाडौं उपत्यकाका ३५ वटा जङसनमा यो प्रणालीका बत्ती राख्न खोजिएको हो ।