९ असार, काठमाडौं । राष्ट्रिय जनशक्ति पार्टीका महासचिव वृजेशकुमार गुप्ताले अब चुनाव बिथोल्ने गरी आन्दोलन हुन नसक्ने बताएका छन् । राजपाबाट उठेका स्वतन्त्र उम्मेदवारलाई आन्तरिक रुपमा सघाउन गृहजिल्ला कपिलवस्तुमा रहेका गुप्ताले जनताको मतदान अधिकार खोस्न नसकिने बताए । ‘अस्ति उम्मदेवारी दर्ताको दिनसम्म जुन ढंगले बिथोल्न खोज्यौं । अब चुनावको दिन त्यस्तो अवस्था आउँदैन’ अनलाइनखबरसँग कुरा गर्दै सांसद गुप्ताले भने, ‘आफ्नै कार्यकर्ता उम्मेदवार बनेका छन् भने चुनाव बिथोल्ने आन्दोलन कसरी हुन्छ ? म दोहोरो चरित्र देखाउन सक्दिन ।’आफू अहिले स्तब्ध अवस्थामा रहेको प्रतिक्रिया उनले दिए । कपिलबस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद समेत रहेका गुप्ताले भने, ‘हामीमाथि गद्धारी भयो । सरकारले गर्यो कि आफ्नै पार्टीले गरेको त्यो त म भन्न सक्दिन तर हामी ‘शकमा’ छौं ।’चुनावमा जाने अधिकार कस्ले रोक्छ ?आफूहरु जनताका बीचमा राजनीति गर्ने व्यक्ति भएको भन्दै गुप्ताले जनचाहना विपरित कार्यकर्तालाई चुनावमा जानबाट रोक्न नसक्ने बताएका छन् ।राजपाका कार्यकर्ताले कपिलवस्तु र रुपन्देहीमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । रुपन्देहीमा राजपा नेता सर्वेन्द्रनाथ शुक्ल सांसद छन् भने कपिलबस्तुमा गुप्ता ।शुक्ल र गुप्ताले चुनावमा भाग लिनुपर्छ भनेर पार्टीमा अन्तिम अवस्थासम्म लडाई लडेका थिए । तर, राजेन्द्र महतो लगायतका नेताको हठका कारण चुनाव बहिस्कारको निर्णय भएको भन्दै शुक्ल र गुप्ताले जिल्लामा कार्यकर्तालाई चुनाव लडाएका छन् ।आफू भोट मागेर नहिडेको बताए पनि गुप्ताले मतदानका दिन के गर्ने भन्ने निर्णय गरि नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘भोट देऊ नदेऊ केही भनेको छैन । साथीहरु स्वतन्त्र लड्नु भएको छ, उनीहरुलाई शुभकामना छ ।’उनले अघि भने, ‘हामी जनताको बलमा राजनीति गर्नेहरुले चुनावमा जानेलाई रोक्न त सकिन्न । जब जनता नै चुनावमा जान तयार छ भने हामीले बहिस्कार गरेर के हुन्छ ?स्थानीय तहको चुनावमा उम्मेदवारी दिने नेता कार्यकर्तालाई कारवाही नहुने संकेत उनले गरे । कारवाहीबारे पार्टीमा कुरा उठे पनि धेरैले राजीनामा दिएर उम्मेदवार बनेकाले कारवाहीको अर्थ नहुने गुप्ताले बताए । उनले भने-जनताको बीचमा राजनीति गर्नेहरु जनमत लिन चुनावमा गएका छन् । यस्तो बेला उनीहरुमाथि कारवाही हुदैन । जनताको जे जस्तो जनादेश आउँछ, त्यसलाई सबैले मान्नुपर्छ ।’