काठमाडौं/श्रावण १, २०७४- प्रधानन्याधीशका लागि सिफारिस गोपाल पराजुलीको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत स्वीकृत गरेको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतिले स्वीकृत गरेको हो । उनीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन ।संसदीय सुनुवाई विशेष समिति सदस्य गणेशमान गुरुङका अनुसार समितिले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लेखी पठाएपछि नियुक्ति र शपथ ग्रहण हुनेछ । पराजुलीले सोमबारदेखि कार्यभार सम्हाल्ने छन् । अहिले वरिष्ठताका आधारमा न्यायाधीश पराजुली कामु प्रधानन्यायाधीश छन् । असार दोस्रो साता संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गत जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि प्रधानन्यायाधीशको पद रिक्त बनेको थियो ।