चितवन/श्रावण २२, २०७४- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएसँगै दुवै पार्टीले संयुक्त विजयी र्याली निकालेका छन् । संयुक्त गठबन्धन बनाएर चुनाव लडेका दुवै पार्टीले चुनाव जितेसँगै महानगरपालिकामा आइतबार मध्यान्ह र्याली निकालेका हुन् । र्यालीमा सहभागिता जनाउन सबै वडाबाट कार्यकर्ता उपस्थित भएका थिए । हजारौंको सहभागिता रहेको र्याली चौबिसकोठीबाट लायन्सचोक, सहिद चोक हुँदै पुल्चोक पुगेको थियो । नारायणगढ हुँदै र्याली पुन चौबिसकोठीमा आएर टुंगिएको थियो । वैशाख ३१ मा चुनाव भए पनि गत जेठ १४ गते १९ नम्बर वडाको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि गणना रोकिएको थियो । सर्वोच्च अदालतको आदेशअनुसार शुक्रबार पुन: मतदान भएको थियो । शनिबार राति मत परिणाम आएसँगै मेयरमा दाहाल र उपमेयरमा शाह विजयी भइन् । दाहाल एमालेका देवी ज्ञवालीलाई २ सय ३ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आजै अपरान्ह विजयी जनप्रतिनिधिलाई शपथ ग्रहण गराइने छ ।