काठमाडौं, २१ बैशाख ।
तीन ठूला दलका प्रमुख नेताहरु संविधान संशोधन र प्रधानन्यायाधीस सुशीला कार्कीमाथिको महाभियोग प्रस्तावबारे छलफल गर्ने सिंहदरबारमा बैठकमा जुटेका छन्। संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव र संविधान संशोधन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक डाकेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपालखबरलाई बताए।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बसिरहेको छ। बैठकमा प्रधानमन्त्री दाहालसहित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व सभामुख सुवास नेम्वाङ सहभागी छन्। वैशाख १७ गते संविधान संशोधन विधेयक आवश्यक गणपुरक संख्या नपुगेपछि बैटक रोकिएको थियो। संख्या अपुग भएपछि सत्तापक्ष दलको आग्रहमा सभामुख ओनसरी घर्तीले २१ गतेसम्मका लागि बैठक स्थगित गरेकी थिइन्। महाभियोग प्रस्ताव र स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयनका कारण दलहरुबीचमा छलफल हुन सकेको थिएन।बिहीबार ३ बजे संसद बैठक बस्दैछ। संविधान संशोधनमा एमालेलगायत प्रतिपक्षीले दललाई पनि सहमत गराएर जाने सत्तारुढ दलले चाहेका छन्। एमालेले भने यसलाई अस्वीकार गर्दै आएको छ।आगामी आर्थिक वर्षका लागि जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान भएका कारण दोस्रो चरणको चुनावको मिति (जेठ ३१) ले प्रभावित पार्नेबारे पनि छलफल हुने बताइएको छ।
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावबारे पनि सत्तापक्ष र प्रतिपक्षबीच कुरा हुने नेता पुनले बताए।