काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग नबढाउने सर्वाेच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आकस्मिक बैठक बसिरहेको छ । सिंहदरबारमा बसिरहेको बैठकमा सर्वाेच्चको फैसलामा गम्भीर छलफल भइरहेको स्रोतको भनाई छ । फैसलापछि अब कसरी अगाडि भन्ने विषयमा दुई नेताको छलफल केन्द्रीत छ । दुई नेताबीच संसद भंग गर्ने कि प्रधानमन्त्रीले राजीनामा गर्ने भन्ने दुई विकल्पमा छलफल भइरहेको स्रोतले बतायो । प्रधानमन्त्री निकट स्रोतले भन्यो– ‘यदि प्रधानमन्त्रीले राजीनामा दिनुभयो भने सरकार आफ्नो हातबाट जान्छ । त्यसैमाथि चुनाव भयो एमालेले ६० प्रतिशतभन्दा माथि सीट जित्छ । कांग्रेस माओवादीको पत्तासाप हुन्छ । सबैतिरबाट सकिन्छ । त्यसकारण संसद भंग गर्ने जोखिमपूर्ण निर्णय आउन सक्छ । यसो भयो भने चुनाव पनि हुँदैन् । सरकार पनि ढल्दैन् ।’ संसद भंग भए सैनिक शासनसम्म आउनसक्ने स्रोतको दाबी छ । सर्वाेच्चको फैसलापछि क्रुद्ध बनेका देउवा र प्रचण्डले जोखिम उठाएर जस्तोसुकै निर्णय पनि लिनसक्ने त्यसमा पनि संसद भंग गर्ने सम्भावना प्रबल रहेको स्रोत बताउँछ । बैठक अहिले जारी छ ।