काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी कंग्रेसका सात सदस्यसहितको प्रतिनिधि मण्डलले आइतबार भेट गरेको छ। भेटमा अमेरिकी कंग्रेसका सदस्यहरुले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौता लगायतका विषयमा प्रधानमन्त्रीसँग चासो राखेका छन्। प्रतिनिधि मण्डलले राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयले अमेरिकी कुटनीति र परराष्ट्र सम्बन्धमा कुनै फरक नपर्ने जानकारी दिँदै नेपालका विकास आयोजनाहरुमा अमेरिकी सहयोग र लगानी गर्न आफूहरु तयार रहेको बताए। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय हित, समसामयिक राजनीति र विकास आयोजनाका सम्बन्धमा कुराकानी भएको थियो। भेटमा प्रधानमन्त्रीले नेपाल र अमेरिका बीचको सम्बन्ध र भ्रमणहरु निकै फलदायी हुने गरेको बताए। नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकी सहयोग महत्वपूर्ण रहेको भन्दै प्रधनमन्त्रीले भने, ‘नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकाको सहयोग प्रशंसनीय छ। २ वर्षअघि नेपालमा गएको भूकम्पको बेला अमेरिकाले उद्दार, राहत र पूनर्निर्माणका खेलेको भूमिका महत्वपूर्ण छ। त्यसका लागि यहाँहरुमार्फत् म अमेरिकी सरकार र जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।’नेपाल राजनीतिक स्थिरता, विकास र आर्थिक समृद्धिको यात्रामा लम्किरहेको जानकारी दिँदै प्रधानमन्त्रीले अमेरिकी लगानी र अनुदानमा नेपालमा सञ्चालित आयोजनाहरुले आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए। भेटका अवसरमा प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको सिद्धान्तलाई ध्यान दिँदै नेपालले आफ्नै मौलिकतामा शान्ति प्रक्रियालाई सफलतामा पुर्याएको जानकारी दिए। भेटमा अमेरिकी कंग्रेसका सदस्यहरु जिम सेन्सेन्ब्रेनर, इलिट एञ्जेल, जिम एमसी गभर्न, बिट्टी एमसी कोलुम, जुडी चु, जोयी बिट्टी, प्रमिला जयपाल लगायतका अमेरिकी कुटनीतिक नियोगका प्रतिनिधिहरु उपस्थित थिए।