२६ बैशाख, पोखरा । पश्चिमाञ्चलका सबै जिल्लामा चुनावी सुरक्षा तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालय पोखराले जनाएको छ । चुनाव हुनुपूर्व, चुनावको समय र चुनावपछिको अवस्थालाई समेत मध्यनजर गरेर सुरक्षा प्रवन्ध मिलाइएको छ । क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले भनिन्, ‘निर्वाचनको समयमा कुनै घटना भएको पाँच मिनेटभित्रै प्रहरी घटनास्थलमा पुगेर सुरक्षा दिने ब्यवस्था मिलाएका छौं । कुनै घटना भएमा सधैंझैं प्रहरीको कन्ट्रोल रुम १०० र क्षेत्रीय प्रहरीको १११३ नम्बरमा फोन गरेमा पाँच मिनेटभित्रै सुरक्षा ब्यवस्था मिलाउने ब्यवस्था मिलाइएको उनको भनाई छ । पश्चिमाञ्चल क्षेत्रमा ५ सय ५५ अतिसंवेदनशील, ७ सय ३१ वटा संवेदनशील र ८ सय ७० वटा सामान्य क्षेत्र निर्धारण गरी सुरक्षा प्रवन्ध मिलाइएको छ । सामान्य क्षेत्रमा १५ देखि २५ जना र संवेदनशील क्षेत्रमा ६० जना र अति संवेदनशील क्षेत्रमा ६० देखि ७५ जनासम्म सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ । मतदानस्थलको सुरक्षा वेदनशीलता हेरेर प्रहरी निरीक्षक वा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटाइने जनपथ प्रहरीका प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनीले बताए । पश्चिमाञ्चल क्षेत्रमा निर्वाचन सुरक्षार्थ प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग, नेपाली सेना र जनपद प्रहरीलाई खटाउन शुरु गरिएको छ । पश्चिमाञ्चलमा चुनावी थ्रेट खासै नभएपनि चुनावमा भाग नलिएका दलहरु सुरक्षा थ्रेटको रुपमा देखापर्न सुरक्षा निकायका अधिकारीहरु बताउँछन् । विप्लव माओवादीतर्फ संकेत गर्दै क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले भनिन्, ‘सुरक्षा थ्रेट निस्तेज पार्न उनीहरुको निगरानी र नियन्त्रण दुबै काम भइरहेको छ ।’ यस बिचमा चुनावमा अवरोध पुर्याउन खोज्ने १६ जनालाई कार्वाही गरिसकिएको र तिमध्ये अधिकांश विप्लव माओवादी निकट कार्यकर्ता रहेको उनले जानकारी दिइन् । पश्चिमाञ्चलमा १४६ स्थानीय तह छन् । तिमध्ये पहिलो चरणमा प्रदेश नम्बर ४ मा पर्ने ८५ स्थानीय तहमा निर्वाचन हुँदैछ । पश्चिमाञ्चलमा पहिलो चरणको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा यहि बैशाख ३१ गते निर्वाचन हुनेछ । पहिलो चरणको चुनावका लागि २ हजार १ सय ५७ मतदान स्थल तोकिएको छ । १४ लाख १३ हजार ३ सय २२ मतदाता रहेको यस क्षेत्रमा १२ हजार ६ सय २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । १३ हजार १० जनाले सुरुमा उम्मेद्वारी दर्ता गरेपनि ४ सय ८४ जनाले उम्मेद्वारी फिर्ता लिएका थिए ।