२६ बैशाख, काठमाडौं । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा आज तीन राज्यमन्त्री थपिँदैछन् । फोरम लोकतान्त्रिकबाट तीनजना राज्यमन्त्री मन्त्रिपरिषमा थपिन लागेका हुन् । राज्यमन्त्रीहरुको सपथग्रहण कार्यक्रम साँझ पाँच बजे तय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालययमा सपथ ग्रहण कार्यक्रम हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सोमबार विजयकुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष समेत रहेका गच्छदारले उपप्रधान तथा स्थानीय विकास, जितेन्द्र देवले पर्यटन र गोपाल दहिले भुमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । आज फोरम लोकतान्त्रिकबाटै राज्यमन्त्रीहरु थपिन लागेका हुन् । राज्यमन्त्री बन्ने भनेर यशोदा लामा, सुमित्रा थारु, जनकराज चौधरी, कल्पना चौधरी, डा. सुबोध पोख्रेल लगायतको नाम चर्चामा छ ।