काठमाडौँ, २६ बैशाख । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि संविधान अनुसार आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ १५ अघि नै दोस्रो चरणको निर्वाचन गर्न माग गर्दै आएको छ । मतदातासँग मत माग्न गोरखा नगरपालिकाको पस्लाङ पुगेका भट्टराईले मंगलबार पत्रकारसँग कुरा गर्दै भागबन्डाको राजनीतिले गर्दा देश भाँडभैलोतर्फ गएको र लोकतन्त्रलाई तहसनहस पार्ने काम भइरहेको आरोप लगाए । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्नेमा सरकार र सरकारमा रहेका दल नै गुण्डागर्दी र अपराधीकरणमा उत्रेको आरोप पनि उनले लगाए ।