काठमाडौं,राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो तहको निर्वाचनका लागि तीन वटा शर्त अगाडि सार्दै शर्त पूरा नभए निर्वाचन हुन नदिने चेतावनी दिएको छ। बिहीबार रिपोर्टर्स क्लवमा भएको साक्षत्कार कार्यक्रममा बोल्दै राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्ना मागहरु पूरा नभए आफूहरुले निर्वाचनमा भाग नलिने मात्रै नभएर मधेसमा निर्वाचन हुनै नदिने बताए। उनले निर्वाचनका लागि संविधान संशोधन विधेयक पारित गर्नुपर्ने, आन्दोलनकारीमाथि लागेका मुद्धा फिर्ता हुनुपर्ने र मधेसमा स्थानीय तहको संख्या बढाउनु पर्ने आफ्ना प्रमुख माग भएको जानकारी दिए। सरकारले आफूहरुलाई थाहै नदिइ संसद बैठक स्थगित गरेको भन्दै उनले जेठ चार गतेको बैठकले संशोधनको कार्यलाई टुँग्याउनु पर्ने र आफ्ना सबै मागको सम्बोधन गर्नुपर्ने बताए। उनले भने, ‘जेठ ४ गतेको बैठकमा हाम्रा मागको सुनुवाइ भएन भने निर्वाचन हुनै नसक्ने परिस्थिति उत्पन्न हुन्छ। हामीले निर्वाचनमा भाग लिने त कुरै छाडौ।’ सरकारले सहमति तोडेर निर्वाचनको कार्यलाई मात्रै अगाडि बढाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए। पटक पटक चुनाव हुन नसक्ने र हुनै नदिने बताएका नेता महतोले सरकार, एमाले र भर्खरै मोर्चाबाट बाहिरिएका उपेन्द्र यादवको कडा शब्दमा आलोचना गरेका थिए । उनले उपेन्द्र यादवले गर्दा सत्तारुढ दलमा राजपा पनि लत्रेर चुनावमा आउम्ँछ भन्ने भ्रम परेको भन्दै त्यस्तो भ्रममा नपर्ने आग्रह समेत गरे। उनले भने, ‘हामी मुद्दा छोडेर निर्वाचनमा आउँदैनौँ मात्रै होइन हाम्र्रा मुद्दाको हल नभएसम्म चुनाव हुनै दिँदैनौ।’ उनले आफ्नो आगामी आन्दोलन सरकार, एमाले र उपेन्द यादका विरुद्ध हुने जानकारी दिए।