नुवाकोट/श्रावण २५, २०७४- नुवाकोटको बेलकोटगढी नगरपालिका- ५ डबलीमा प्रहरीले २ राउन्ड हवाइफायर गरेको छ । बुधबार दिउँसो आयोजना गरिएको लाठे नाच प्रतियोगितामा दुई युवा समूहबीच भनाभनपछि भएको झडपलाई नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले बताए ।लाठे नाच भइरहेको बेला मोटरसाइकलमा आएका दुई युवाले नाचको बीचैबाट मोटरसाइकल पार गराउन लागेका थिए । मोटरसाइकल पार गराउने क्रममा नाचिरहेका युवाले नदिएपछि विवाद उत्पन्न भएको थियो । सामान्य विवादले पछि झडपकै रुप लिएपछि प्रहरीले हवाइ फायर गरेको हो । प्रजिअ बरालले भने, ‘नुवाकोटको रातमाटे र तारुकाका युवाबीच लाठे नाच भइरहेको थियो । नाच भइरहेको बेला दुई युवाले नाचको बीचबाट मोटरसाइकल लैजान खोजेपछि विवाद भएछ । विवादपछि झगडा हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २ राउन्ड हवाइ फायर गर्यो ।’नुवाकोटका डिएसपी ऋषिराम कँडेलले झडप हुँदा ५ जना घाइते भएको जानकारी दिए । उनले थप झडप हुन नदिन प्रहरी पठाइसकिएको बताए ।