लोक गायिका श्रीदेवी देवकोटा तीज गीत गाउन थालेपछि थप चर्चामा आएकी गायिका हुन् ।
गीतहरू चल्न थालेपछि स्टेज कार्यक्रममा उनलाई बाक्लै निम्तो आउन थालेको थियो । काठमाडौंमा एउटा कार्यक्रममा गाउँदा एकजना पुरुषले आफूलाई अलि बढी नियालेको महसुस् गरिन् उनले ।
केही दिनपछि फेरि अर्को कार्यक्रमबाट निम्तो आयो । त्यहाँ पुग्दा तिनै पुरुषले कार्यक्रम सुरु नहुँदै श्रीदेवीलाई भेटेर भने – ‘तपाईँको स्वर मलाई असाध्यै मन पर्यो । एल्बम निकाल्नुस्, म लगानी गर्छु ।’
चार दिदी-बहिनीकी कान्छी श्रीदेवीलाई पीर केही कुराको थिएन । बुबा भारतमा बैंकका जागिरे । उनले सोचिन् – ‘यही मान्छेको लगानीमा एल्बम निकाल्नुपर्ने मलाई त्यस्तो नपुग्दो के छ र ?’
उनले बाल दिइनन् ।
श्रीदेवी जुन कार्यक्रममा जान्थिन्, ती पुरुष त्यहीँ पुग्थे । आफूलाई पछ्याएको जस्तो लागेपछि उनले सबै जानकारी मागिन् । तपाईँ को, कहाँको ? किन मेरो पछि ?
उनले परिचय दिए – नाम डिबी खड्का, पेशा हाउजिङ व्यवसाय ।
‘यिनले मलाई मन पराएका हुन् कि मेरो गीतलाई ?,’ श्रीदेवीले यसबारे जान्न खोजिन् । यस क्रममा डिबी खड्का र नेपाली संगीत बजारबीचको सम्बन्धबारे केलाइन् ।
रामेछापका डिबीले पश्चिमा केही कलाकारको एल्बममा लगानी गरेका रहेछन् । दुई-चार ठाउँ बुझेपछि उनलाई पक्का भयो, डिबी लोक संगीतलाई माया गर्दा रहेछन् ।
दुवैको बीचमा फेरि भेट भयो । तर, त्यो भेटमा एल्बम निकाल्ने कुरा नभई अरु नै कुरा भए । श्रीदेवी हाँस्दै सुनाउँछिन् – ‘हाम्रो त लभ परिसकेछ, त्यसपछि एल्बम निकाल्ने कुरा कम र मायाप्रेमका कुरा बढी हुन थाल्यो ।’
दुई वर्षजति प्रेम गरेपछि डिबीले श्रीदेवीको घरमा कुरो पुर्याए । आमा र दिदीहरुले त राम्रै मानेका थिए । तर, बा र दाइलाई मन परेन ।
उनी पनि के कम ! घुर्की लगाइन् – ‘बिहे गर्न दिएनन् भने म त भाग्दिन्छु !’
यस्तो घुर्की सुनेपछि बा र दाइ पनि गले र बिहे गराइदिए ।
उनी अहिले श्रीमान्कै सहयोगको कारण संगीत बजारमा सहज भएको धारणा राख्छिन् । कस्तो शब्द गाउने, कस्तो भिडियो बनाउनेदेखि हरेक कुरामा सुझाव दिन्छन् डिबीले ।
२५ एल्बम, ८० गीत
पाल्पाको जल्पा ९ राप्सेमा जन्मेकी श्रीदेवीले अहिलेसम्म २५ वटा एल्बम निकालिसकेकी छिन् । ८० भन्दा बढी गीतमा स्वर दिएकी छिन् ।
उनको गाउने सोख पहिल्यैदेखिको हो । स्कूल पढ्दा हरेक कार्यक्रममा सहभागी हुने श्रीदेवी गायनमा जहिल्यै पहिलो हुन्थिन् । ‘त्यसरी पुरस्कृत भएर आउँदा आमाले साह्रै माया गर्नुहुन्थ्यो’ उनले सम्झिइन् ।
स्कूल पढ्दै गर्दा उनलाई धेरैले भन्थे रे, ‘तँ त पछि गायिका हुन्छेस् जस्तो छ ।’ प्लस टु सम्म पाल्पामा पढेकी श्रीदेवी ब्याचलर पढ्न काठमाडौं आइन् ।
काठमाडौंमा केही समय संगीत सिकेकी उनले पहिलो एल्बम निकालिन् ‘शिरमा सिउँदो छ ।’ एल्बम राम्रै चल्यो । त्यसपछि क्रमशः एल्बम निकाल्न सुरु गरेकी श्रीदेवीले गायनलाई निरन्तरता दिइरहेकी छिन् । भन्छिन् ‘गाउने कामबाट कहिल्यै विश्राम लिन्नँ ।’
‘कन्याइदेऊ न बाई’ ले थप चर्चा
श्रीदेवीले तीजको गीत गाउन थालेको धेरै भएको छैन । ०७१ सालमा ‘कन्याइदेऊ न बाई’ शीर्षकमा तीजको गीत गाएकी उनलाई उक्त गीतको भिडियोले थप चर्चित बनायो ।
कतिले अश्लील गीत भनेर टिप्पणी गरे त कतिले राम्रै लागेको प्रतिक्रिया दिए । त्यसपछि पनि उनले तीजका गीत निरन्तर गाइरहेकी छिन् । उनको गीतको बारेमा टिप्पणी गर्ने क्रम रोकिएको छैन । उनी भन्छिन् ‘हेर्ने दृृष्टिकोण आ-आफ्नै हुन्छ, मेरो गीतको बारेमा टिप्पणी गर्नेहरुप्रति गुनासो छैन ।’
धेरैले उनलाई भन्ने गरेका छन्, उनी द्विअर्थी लाग्ने शब्द गाउँछिन् । आफूले दर्शकलाई मन पर्ने गीत गाएको बताउने श्रीदेवी आफ्नो गीत अश्लील नभएको दाबी गर्छिन् ।